
पहिरोले खरी–बोरी खोलाको पाइपलाइनमा क्षती पुगेपछि मर्मत गर्दै संस्थाका प्राविधिकहरु
सुर्खेत, २९ भदौ ।
वीरेन्द्रनगरमा तीन दिनयता पानी वितरण पूर्णरुपमा प्रभावित भएको छ । पहिरो र अत्याधिक वर्षाका कारण स्रोत र संरचनामा क्षती पुगेपछि पानी वितरण ठप्प भएको हो । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पानी वितरण गर्दै आएको वीरेन्द्रनगरको अधिकांश क्षेत्र गत बिहीबारदेखि पूर्णरुपमा प्रभाव भएको छ ।
खानेपानीका मुख्य स्रोत झुप्रा मुहान, खरी–बोरी खोला, इत्राम र खोर्के मुहानबाट इत्राम र अन्य कलेक्सन सेन्टर (प्लान्ट) मा पानी झरेको छैन । ‘पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षती भएको छ,’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, तीन दिनदेखि प्लान्टमा एक थोपा पानी नझरेकाले वितरण गर्न नसकिएको हो ।’ वर्षातले एकै पटक सबै स्रोतमा क्षती पुगेकाले पानी वितरण ठप्प हुन पुगेको उनको भनाइ छ ।
कहाँ–कहाँ भयो क्षती ?
अध्यक्ष देवकोटाका अनुसार खरी–बोरी खोलाबाट ल्याइएको पानीको पाइपलाइन दोबिल्ला नजिक पहिरोले फालेको छ । वर्षातका कारण झुप्राको लाइनबाट अत्याधिक धमिलो र लेदो पानी मात्रै आएकाले कलेक्सन सेन्टरमा हालिएको छैन । भलका कारण झुप्राको इन्टेकमा समेत क्षती पुगेको छ ।
त्यस्तै, इत्राम र खोर्के खोलको स्रोतमा पनि भल पसेका कारण कलेक्सन सेन्टरसम्म पानी ल्याउन सकिएको छैन । बुलबुले स्रोतमा भने ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाएको छ । पहिरोले पाइपलाइन र अन्य संरचनामा ठूलो क्षती पु¥याएको मर्मतमा खटिएका संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए ।
कहिले सुचारु हुन्छ ?
संरचनामा क्षति पुगेलगत्तै मर्मत टोली फिल्डमा खटाइएको अध्यक्ष देवकोटाले बताए । आइतबार साँझ (आज) सम्म वीरेन्द्रनगरका केही भागमा पानी वितरण गर्नेगरी काम भइरहेको र सबै क्षेत्रका उपभोक्ताको धारामा ढिलोमा सोमबार बेलुकासम्म पानी आउने उनले जनाए ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा हाल १७ हजार धारामार्फत् खानेपानी सेवा दिइरहेको संस्थाले सुख्खा खडेरी र वर्षातमा पानी वितरणमा समस्या झेल्दै आएको छ ।























कर्मसञ्चार । २०७६ भाद्र २९ गते आइतवार