काठमाडौँ, १० असार । अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भएपनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ ।
तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि एसइइमा डी प्सल (१ दशमलव ६) ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ल्याउने विद्यार्थीले पनि पाउने व्यवस्था लागू भएपछि विद्यार्थीको गुणस्तर खस्किएको हो ।
अक्षराकंन प्रणाली (लेटर ग्रेडिङ) मा उत्तीर्ण र अनुत्तीर्ण किटान नगरी स्तरीकृत अंकमा विद्यार्थीको नतिजा आउन थालेपछि नपढे पनि वा राम्रोसँग नपढे पनि पास भइन्छ अर्थात् कक्षा ११ मा भर्ना हुन्छ भन्ने सन्देश विद्यार्थी, शिक्षक र अभिभावकमा परेका कारण गुणस्तरमा प्रगति नभएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले शनिबार सार्वजनिक गरेको २०७४ सालको परीक्षाको नतिजाअनुसार डी प्लस ल्याउनेमा ३५ हजार ५८४ विद्यार्थी देखिएका छन् । अघिल्लो वर्ष यो श्रेणीमा ६४ हजार ५७७ विद्यार्थी सफल भएका थिए । जबकी अघिल्लो वर्ष कूल विद्यार्थीको संख्या सात हजारले कम थियो ।
शिक्षाविद् डा मनप्रसाद वाग्लेले सी प्लस (३ दशमलव ५) मा ६० हजार विद्यार्थी देखिनुले विद्यालय शिक्षा प्रणालीमा गुणस्तर खस्केको देखाएको बताए । ‘विद्यार्थीमा अरुभन्दा सक्षम वा राम्रो अंक ल्याउनुपर्छ भन्ने भावना कम हुँदै गयो । जसरी हुन्छ १ दशमलव ६ जिपिए ल्याए हुन्छ भन्ने मान्यता स्थापित भएको देखियो’ डा वाग्लेले भने । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले परीक्षा प्रणाली र नतिजाबारे विस्तृतमा समीक्षा गर्न अहिले नै हतार हुने बताए ।
सरकारको नीतिअनुसार (जिपिए) २ ल्याएका विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय पढ्न पाउनेछन् । सो विषय पढ्न एसइइमा अंग्रेजी, गणित, विज्ञान, सामाजिक, र नेपालीमा डी प्लस प्राप्त भएको हुन आवश्यक छ । विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान र गणितमा सी प्लस र अँग्रेजीमा सी अनिवार्य ल्याउनुपर्छ । व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न १.६ जिपिए ल्याउनेले पनि अवसर पाउने छन् । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको जिपिए १.६ मानिन्छ ।
प्रकाशित मितिः July 23, 2018 at 7:28 am













कर्म संचार । २०७५ साउन ७ गते सोमवार