सुर्खेत, १७ साउन ।
वीरेन्द्रनगरको लाटीकोईलीस्थित शिव मन्दिरमा जारी शिव महामहोत्सवमा एक करोड पाँच लाख दान रकम संकलन भएको छ । महामहोत्सवमा १ करोड ५ लाख ११ हजार १ सय ११ नगद र ६ लाख बराबरको जग्गा गरी कुल १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दान संकलन भएको आयोजक समितिले जनाएको छ ।
संकल्पकर्ता श्री गोविन्द शरण महाराजले ७९ वटा महापुराण मध्य यो नै उदाहरणीय रहेको बताए । महामहोत्सवमा उधारो (बोल कबोल) नभई नगदमै दान रकम संकलन भएकोमा उनले खुसी व्यक्त गरे । धार्मिक शिव महामहोत्सव २०७५ मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले महोत्सव भव्य र सभ्य रुपमा सफल बनाउन मन, वचन, कर्म र गक्ष अनुसार दान दिई सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गरे । उनले महोत्सवको आय–व्यय सम्बन्धी हिसाबलाई एक हप्ता भित्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी दिए । महोत्सव साउन ७ देखि १७ गतेसम्म १० दिन सञ्चालन भएको थियो ।
महोत्सवबाट भएको आम्दानीले मन्दिरको गेट निर्माण, पर्खाल लगाउने, साधुहरुको लागि व्यवस्थापन गर्ने र बचत रकम अक्षयकोषमा जम्मा गरेर उक्त ब्याजबाट दैनिक पूजाआजाको लागि हुने खर्च व्यवस्थापन गरिने मुल आयोजक समितिले जनाएको छ ।
प्रकाशित मितिः August 3, 2018 at 7:57 am


कर्मसञ्चार । २०७५ साउन १८ गते शुक्रवार