असार २४, सुर्खेत । जिल्लाका सामुदायिक विद्यालयका ५ सय भन्दा बढि अभिभावकलाई सम्मान गरिने भएको छ ।
बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनका लागि अभिभावकलाई प्रोत्साहित गर्ने उदेश्यले १ देखि ३ कक्षामा अध्ययनरत विधार्थीहरुका अभिभावकहरुलाई सम्मान गर्न लागिएको हो ।
सुर्खेत सहित देशभरका १६ जिल्लामा संचालन भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत सुर्खेतमा रहेका ५ सय ९ सामुदायिक विद्यालयका १-१ जना अभिभावक गरी ५ सय ९ जना अभिभावकलाई सम्मान गर्न लागिएको हो ।
बालबालिकाको पठन सिप विकास गर्ने उद्देश्यले युएसएआईडिको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला नेपाल सरकार शिक्षा मन्त्रालयद्धारा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत अभिभावक सम्मानका लागि शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतले विभिन्न आधारहरु खडा गरेको छ ।
बालबालिकाहरुलाई नियमित विद्यालयमा पठाउने, बालबालिकाहरुलाई स्वस्थकर खाजाको व्यवस्था गर्ने, नियमित रुपमा विद्यालयको पठनपाठनबारे जानकारी लिनेलगायतका विषयका आधारमा उत्कृष्ट अभिभावक छनौट गरिने छ ।
यस्तै अभिभावक छनौट गर्दा विद्यालयलाई रचनात्मक सहयोग गर्ने, विद्यालयका निति, नियम र आचारसंहितालाई पालना गर्ने विषयलाई पनि आधार बनाईएको छ । सम्मानका लागि विद्यालय व्यवस्थापन समितिले सिफारीस गर्ने छ, सिफारीस गरिएका अभिभावकलाई स्थानीय तहका शिक्षा प्रमुखको अध्यक्षतामा गठन हुने ७ सदस्यीय अभिभावक मुल्यांकन अनुमोदन समितिले अन्तिम रुप दिने भएको छ ।
प्रकाशित मितिः July 23, 2018 at 7:27 am













कर्म संचार । २०७५ साउन ७ गते सोमवार