
सुर्खेत । नेकपा (एमाले) का सचिव यामलाल कँडेलले मुलुकको वर्तमान संकटबाट निकास दिन एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी पार्टी भएको धारणा राख्दै उनले नयाँ भनिने पार्टीहरूको शैली र प्रवृत्तिमाथी आलोचना गरे । सोमबार एमाले सुर्खेत क्षेत्र नंं. २ ले वीरेन्द्रनगर–११, पिपिरामा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै सचिव कँडेलले एमाले र कांग्रेसजस्ता स्थापित दलविना देश अघि बढ्न नसक्ने जिकिर गरेका हुन् । उनी भन्छन्, ‘हामी भोट मात्र माग्दैनौं, जनताको भरोसा पनि गुम्न दिँदैनौं ।’ उनले २०८४ मा हुनुपर्ने चुनाव फागुन २१ मा हुन लागेको भन्दै यसर्थ पनि विशेष महत्वको रहेको बताए । कँडेलले सिंहदरबार र देशका प्रमुख धरोहर जलाउने तथा सहकारी ठगीमा संलग्न व्यक्तिहरू नयाँको मुखुण्डो ओढेर जनतालाई भ्रमित पार्न खोजिरहेको कडा टिप्पणी गरे । सामाजिक सञ्जालमार्फत देशमा केही पनि नभएको जस्तो नकारात्मक सन्देश फैलाएर नागरिकलाई अल्मल्याउने काम भइरहेको उनको भनाइ थियो ।

सचिव कँडेलले आफै वैधानिकताको लडाइँमा रहेको कांग्रेस एक्लैले देशको निकास दिन नसक्ने बताउँदै फरक राजनीतिक कित्तामा उभिए पनि एमाले र कांग्रेसबीचको प्रतिस्पर्धा नै मुलुकका लागि आवश्यक रहेको दाबी गरे । उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डप्रति पनि विश्वास नभएको टिप्पणी गरे । ‘हिजो जलाउन उक्साउनेहरूले अहिले देश जलाउने र बनाउनेको भाषा प्रयोग गरिरहेका छन्,’ उनले भने । कँडेलले अहिलेको निर्वाचन भोट हाल्ने प्रक्रियामा मात्रै सीमित नभइ देशलाई भूराजनीतिक चुनौतीबाट जोगाउने अवसरसमेत रहेको बताए ।
प्रकाशित मितिः February 17, 2026 at 12:07 pm























कर्मसञ्चार । २०८२ फागुन ५ गते मंगलवार