कर्णालीमा प्रजनन स्वास्थ्य सेवा विस्तारका लागि सरोकारवाला एकजुट

परिवार नियोजन संघ सुर्खेतद्वारा एकै वर्षमा ३४ हजारभन्दा बढीलाई सेवा

सुर्खेत । कर्णाली प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाको आयोजनामा तथा स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा सोमबार वीरेन्द्रनगरमा आयोजित समन्वयात्मक बैठकका सहभागीहरूले यस्तो बताएका हुन् । बैठकमा सरकारी निकाय, गैरसरकारी संस्था तथा विकास साझेदारबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याइएको हो ।
नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्धक बसन्त खनालले संघले सञ्चालन गरिरहेका कार्यक्रमका साथै सेवाग्राही–केन्द्रित परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य सेवा विस्तार परियोजना (इसिसिडि) अन्तर्गतका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रस्तुति राखेका थिए । उनले परियोजनाले सेवाग्राही केन्द्रित परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवा सुधार र विस्तारलाई प्राथमिकता दिएको बताए । यस्तै, संघले सेवा प्रदायकको क्षमता विकास, परिवार नियोजनका साधनको नियमित आपूर्ति तथा स्वास्थ्य संस्था र समुदायबीचको समन्वयमा जोड दिँदै आएको जानकारी दिइएको थियो ।
बैठकमा कर्णालीमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार, परिवार नियोजनका साधनको नियमित आपूर्ति तथा सेवाको गुणस्तर सुधारका लागि सम्बन्धित निकायबीच थप समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको थियो । स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेशका निर्देशक डा. रबिन खड्काको अध्यक्षतामा भएको बैठकमा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, स्वास्थ्य सेवा कार्यालय, स्वास्थ्य तालिम केन्द्र तथा यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा कार्यरत संघ–संस्था र सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।


कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव बृशबहादुर शाही, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक कृष्णप्रसाद सापकोटा, स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराई, स्वास्थ्य तालिम केन्द्र सुर्खेतका प्रमुख नवराज कँडेल तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष ईश्वरराज अधिकारीले आ–आफ्नो धारणा राखेका थिए ।
नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाका सभापति सुरेन्द्र बस्नेतले स्वागत गरेको कार्यक्रममा निमित्त शाखा प्रबन्धक किरण श्रेष्ठले शाखाबाट सञ्चालित कार्यक्रम तथा गतिविधिबारे जानकारी गराएकी थिइन् । श्रेष्ठका अनुसार परिवार नियोजन संघ सुर्खेत शाखाबाट एक वर्षको अवधिमा ३४ हजारभन्दा बढीले सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८२÷०८३ मा शाखाबाट ३४ हजार ४६९ जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिएको जनाइएको छ । जसअन्तर्गत स्त्रीरोग १६ हजार ६५८, परिवार नियोजन ५ हजार ५८४, एसटीआई ४ हजार १४८, बालरोग २ हजार ८६३, नन्–एसआरएच १ हजार ७२९, एचआइभी/एड्स १ हजार ६०६, प्रसूति १ हजार ३५० तथा सुरक्षित गर्भपतन सेवा ४२६ जनाले लिएको शाखाको तथ्याङ्क छ । सुर्खेत शाखाले नियमित सेवासहित स्थानीय तह र स्वास्थ्य सेवा कार्यालयसँगको समन्वयमा प्रदेशका विभिन्न स्थानमा घुम्ती शिविर पनि सञ्चालन गर्ने गरेको छ । कण्डमलगायत कतिपय परिवार नियोजनका साधनको भने अभाव रहेको बताइएको छ ।
संघले हाल २० वटा शाखामार्फत सातवटै प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न परियोजना तथा सेवाहरू सञ्चालन गर्दै आएको छ । समन्वयात्मक बैठकले कर्णालीमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको सुधार एवम् विस्तारका लागि सरोकारवालाबीच आगामी दिनमा थप प्रभावकारी समन्वय र सहकार्यका लागि महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   September 29, 2026 at 9:11 am 


  • प्रतिक्रिया दिनुहोस्