
सुर्खेत । नेपाली एथलेटिक्सका पूर्वधावक तथा प्रशिक्षक हरिबहादुर रोकाया एक्स्ट्रिम कर्णाली याक्स हिरोजबाट सम्मानित भएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गिहेन्द्र घिमिरेले रोकायालाई सम्मान गरे। सम्मानसहित रोकायालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै उनलाई कर्णाली याक्सले सम्मान गरेको हो । योसँगै रोकाय कर्णाली याक्स हिरोजको रूपमा टिमको ब्रान्ड एम्बेसडर रहनेछन् ।
जुम्लाका रोकायाले ३८ वर्षको उमेरमा सन् २००० मा एभरेस्ट म्याराथनमा बनाएको विश्व कीर्तिमान अहिलेसम्म तोडिएको छैन । कठिन भूगोल र संघर्षलाई छिचोल्दै रोकायाले स्कुल जीवनदेखि दौड सुरू गरे । उनको यात्रा ओलम्पिकसम्म पुग्यो। उनले १९८८ को सियोल र १९९२ को बार्सिलोना ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए। कुल ११ राष्ट्रिय स्वर्ण पदक जितेका रोकायाले दक्षिण एसियाली खेलकुदमा ५,००० मिटरमान कास्य पदक प्राप्त गरेका थिए ।
एभरेष्ट म्याराथनमा गिनिज बुक अफ वल्ड रेकर्ड बनाएका उनले तीन पटक उपाधि जितेका छन्। सन् १९९९ मा ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै विश्व रेकर्ड बनाए। सन् २००० मा आफ्नै कीर्तिमान सुधार गरे। खेल जीवनपछि प्रशिक्षणमा होमिएका उनी कर्णालीमा हरि गुरूको रूपमा परिचित छन्। उनले जुम्लाबाट राष्ट्रलाई बिश्व रूपा बुढा, राजन रोकाया, पूर्ण लक्ष्मी, ट्रेल रनर सानुमाय बुढा, मिरा राई जस्ता खेलाडीलाई प्रशिक्षण दिएका छन्।
लामो समयदेखि नेपाली म्याराथनमा योगदान दिँदै आएका रोकाया कर्णालीको मात्र नभइ देशकै खेलकुद क्षेत्रका प्रेरणादायी खेलाडीका रूपमा चिनिन्छन् । उनले अहिले कर्णाली स्पोर्टस क्लब स्थापना गरेर निरन्तर प्रशिक्षण र अन्तर्राष्ट्रिय सहभागिता गराइरहेका छन् । रोकायाले रारा-जुम्ला अल्ट्रा म्याराथनसमेत आयोजना गर्ने गरेका छन्। अहिले उनले मिल चलाएर खेलाडीहरूका लागि सहयोग गरिरहेका छन् । सम्मानको लागि रोकायाले कर्णाली याक्सलाई धन्यवाद दिँदै प्राप्त रकम जुम्लाको खेलाडीको प्रशिक्षण लगायतमा प्रयोग गर्ने बताए।
प्रकाशित मितिः October 6, 2026 at 2:27 pm






कर्मसञ्चार । २०८३ असोज २० गते मंगलवार