कर्णालीमा पूर्व बाल क्लब सदस्यहरूको पहिलोपटक प्रादेशिक भेला हुँदै

सुर्खेत । पूर्व बाल क्लब सदस्यहरूको पहिलोपटक कर्णाली प्रदेशस्तरीय भेला गरिने भएको छ । बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश (सिसिआर-कर्णाली) को आयोजनामा यही साउन २३ गते सुर्खेतको वीरेन्द्रनगरमा भेला गर्न लागिएको हो । वीरेन्द्रनगरस्थित सिद्धार्थ होटलमा बिहान ९ बजेदेखि भेला सुरू हुने जनाइएको छ । उक्त भेलामा कर्णाली प्रदेशभरिका पूर्व बाल क्लब सदस्यहरूको सहभागिता रहने आयोजकले जनाएको छ । भेलामार्फत पूर्व बाल क्लब सदस्यहरूबीच अनुभव, विचार तथा सुझाव आदान–प्रदान गर्दै बाल अधिकारको संरक्षण एवम्  प्रवर्द्धनमा उनीहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।
सिसिआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले यस भेलाले पूर्व बाल क्लब सदस्यहरूबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताए । उनकाअनुसार भेलाले बाल अधिकार संरक्षण तथा प्रवर्द्धनका अभियानलाई अझै प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । भेलामा “बाल सहभागिताः हिजो, आज र भोलि” विषयमा नीति संवाद गरिनुका साथै कर्णालीका बालबालिकाको वर्तमान अवस्था, अवसर र चुनौतीबारे प्रस्तुति तथा छलफल हुनेछ । यस्तै, पूर्व बाल क्लब सदस्यहरूको नेतृत्व, भूमिका र योगदानका विषयमा अन्तरक्रिया हुनेछ भने प्रदेशस्तरीय पूर्व बाल क्लब सदस्य सञ्जाल गठन तथा आगामी कार्ययोजना तर्जुमासमेत गरिनेछ ।

प्रकाशित मितिः   August 2, 2026 at 3:13 pm 


  • प्रतिक्रिया दिनुहोस्