सिसिआर कर्णालीको साधारणसभाः बाल अधिकार संरक्षणमा जोड


सुर्खेत । बाल अधिकारका लागि साझा अभियान, कर्णाली प्रदेश (सिसिआर कर्णाली) ले पाचौं वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको छ । कर्णाली प्रदेशमा बाल अधिकारका लागि क्रियाशील नागरिक समाज संस्थाहरूको सञ्जाल सिसिआर कर्णालीले शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यको अध्यक्षता एवम् प्रदेश बाल क्लब सञ्जाल कर्णाली प्रदेश अध्यक्ष समिक्षा चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा तथा स्थापना दिवस मनाइएको हो । प्रमुख अतिथि चौधरीले सभालाई सम्बोधन गर्दै सिसिआर कर्णालीले स्थापनाकालदेखि बालबालिकाको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासका लागि महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको बताइन् । ‘कर्णालीका बालबालिकाको अधिकार संरक्षण, प्रवर्द्धन र नेतृत्व विकासमा सिसिआर कर्णाली हाम्रो अभिभावकीय संस्था तथा सहयात्री हो,’ उनले भनिन्, ‘यो सञ्जालले आगामी दिनमा पनि बाल अधिकारको क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छु ।’ उनले सिसिआर कर्णालीले प्रदेश बाल क्लब सञ्जालको गठन, संस्थागत विकास तथा क्षमता अभिवृद्धिमा प्रशंसनीय काम गरेको जनाइन् ।


सिसिआर कर्णालीका अध्यक्ष आचार्यले हाल सञ्जालमा ४० वटा नागरिक समाज संस्थाहरू आबद्ध रहेको भन्दै आफूहरूले संस्थागत सुधार, क्षमता विकास, पारदर्शीता र जवाफदेहितालाई प्राथमिकता दिँदै आएको बताए । उनले आगामी दिनमा साझेदार संस्था, प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । ‘बालबालिका सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सबै तह नागरिक समाज, साझेदार संस्था, बालबालिकासहित सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक छ,’ उनले भने । संस्थाले विभिन्न नीति तथा निर्देशिका, संस्थागत रणनीतिक योजना र पैरवी रणनीति तयार गरी कार्यान्वयन गर्दै आएको अध्यक्ष आचार्यले बताए । दिगो स्रोतको सीमितता र कार्यक्रम सञ्चालनका लागि साझेदारमा निर्भर रहनुपर्ने अवस्थालाई भने उनले चुनौतीका रुपमा रहेको औल्याए ।


साधारणसभाको खुला सत्रमा सञ्जालका सल्लाहकार तथा आबद्ध संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए । सभामा संस्थाका महासचिव विष्णुप्रसाद शर्माले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गिता बोहोराले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले संस्थागत, बालबालिका र विपद् जोखिम सम्बन्धी विभिन्न समसामयिक एजेण्डा पनि पारित गरेको छ । सभाको खुल्ला सत्रको सञ्चालन सिसिआर कर्णालीका कार्यकारी समिति सदस्य रचना सुनार र सहजीकरण कार्यकारी निर्देशक टेकराज आचार्यले गरेका थिए ।

प्रकाशित मितिः   September 26, 2026 at 7:11 am 


  • प्रतिक्रिया दिनुहोस्