मधेश घटना

सामाजिक सद्भाव कायम गर्न कर्णालीका मुख्यमन्त्रीको अपिल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मधेश प्रदेशका विभिन्न स्थानमा केही दिनयता जनधनको क्षति हुनेगरी भएका घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मधेशमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीले शुक्रबार एक अपिल जारी गर्दै यस्ता घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकतामाथि प्रतिकूल प्रभाव पार्ने बताएका छन् । उनले मुलुकमा अशान्ति र असुरक्षाको वातावरण सिर्जना हुनु अत्यन्तै चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री शाहीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक न्याय तथा राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको बताएका छन् । उनले कुनै पनि जातजाति, भाषा, धर्म वा सम्प्रदायबीच वैमनस्य फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । वर्तमान संवेदनशील परिस्थितिमा सबै पक्षले उच्च संयमता अपनाई कानुनको पूर्ण पालना गर्न र शान्ति, सद्भाव, भाइचारा तथा आपसी विश्वासलाई केन्द्रमा राखेर अघि बढ्न उनले अपिल गरेका छन् । अपिलमा भनिएको छ, ‘कर्णाली र मधेशबीच सामाजिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले धेरै साझा विशेषता र आत्मीय सम्बन्ध रहेका छन् । मधेशले भोगिरहेको यस दुःखको घडीमा कर्णाली प्रदेश सरकार तथा कर्णालीबासीहरू पनि उत्तिकै मर्माहत भएका छौं । सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा आम नागरिकले शान्ति, सद्भाव, सहिष्णुता, कानुनी शासन र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनतर्फ केन्द्रित हुनुपर्ने देखिएको छ ।’ मुख्यमन्त्री शाहीले मधेश घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको गरेका छन् ।

प्रकाशित मितिः   July 31, 2026 at 4:17 pm 


  • प्रतिक्रिया दिनुहोस्