मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्री नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा मुगुका मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले मंगलबार नै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । उनको पक्षमा नेकपाका १४ र नेकपा (एमाले) का ९ गरी २३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ ।
यसअघि नेकपा (एमाले)का नेता यामलाल कँडेलले गत शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, सभामुखसहित एमालेका १० र राप्रपाका एक जना सदस्य छन् । नवनियुक्त मुख्यमन्त्री शाहीको सपथग्रहण बुधबार हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त शाही मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित हुन् । शाहीले २०४५ सालबाट अनेरास्ववियुमार्फत आफ्नो राजनीतिक यात्रा सुरू गरेका थिए । कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मितिः   July 29, 2026 at 11:57 am 


  • प्रतिक्रिया दिनुहोस्