
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निराशा बाँडेर जनताबाट विश्वास जित्न नसकिने बताएका छन् । सुर्खेतको रामघाटमा बुधबार नवनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले मूलधारका राजनीतिक दलले एक अर्कालाई दोष देखाएर पन्छिन नमिल्ने भन्दै यस्तो बताएका हुन् ।
‘एक अर्कालाई कमजोर देखाउनका लागि केही भएको छैन् भनेर निराशा बाँड्न हुँदैन्,’ उनले भने, ‘ठूला तीन दल पालैपालो शासन सत्तामा छौं, सकारात्मक कामहरु सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्छ ।’ उनले राजनीतिक दलहरुको सकारात्मक व्यवहारले नै जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्ने बताए । दलीय मतभिन्नतालाई थाती राखेर जनतमाझ आशा एवम् विश्वास दिलाउन सके राजनीति र विकासले सही मार्ग पहिल्याउने उनले जनाए ।
मुख्यमन्त्री कँडेलले विकास जुन तहका सरकारले गरेपनि यही व्यवस्थाको उपज भएकाले सामूहिकतामा हेरिनुपर्ने धारणा राखे । ‘केही कमजोरी अझैं पनि छन्, तिनलाई सुधार गर्दै जानुपर्छ,’ उनले भने, ‘तर केही नभएको भन्ने होइन्, पर्याप्त कामहरु भएका छन् ।’ उनले अघिल्लो पुस्ताजस्तो अहिलेको पुस्तामा धैर्यता नभएकाले समाज र विकासको गति बुझेर अघि बढ्नुपर्ने बताए । मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार, उपकरणको बन्दोबस्त मात्र नभई प्रहरीको व्यवहार पनि जनमैत्री हुनुपर्ने औंल्याए ।
कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताए । यस्तै, प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पुरा भएको जनाए । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुविधासम्पन्न भवनबाट शान्ति सुरक्षा र अपराध नियन्त्रण जस्ता कार्यमा प्रहरी सफल हुनुपर्ने विचार व्यक्त गरेका थिए ।
चौकी निर्माणका लागि गाल्वा÷क्याराभान÷सुपरस्टार जेभी काठमाडौं र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच २०७६ जेठ ११ गते सम्झौता भएको थियो । एक करोड ५७ लाख ५८ हजार ३८० रुपैयाँ लागतमा सम्झौता भएपनि भवन भने एक करोड ३२ लाख ७ हजार ७२ रुपैयाँमा निर्माण सम्पन्न भएको हो । ३०२ वर्ग मिटरमा निर्माण गरिएको तीन तले भवनमा ब्यारेक, अफिस, हिरासत कक्ष, गार्ड रुम, मनोरञ्जन कक्ष, शौचालय, मेस लगायतका संरचना रहेका छन् ।













कर्मसञ्चार । २०८२ भाद्र १३ गते शुक्रवार