
सुर्खेत । वीरेन्द्रनगर–४ भैरवस्थानदेखि बडिमालिकासम्म धार्मिक डोली यात्रा गरिने भएको छ । आउँदो भदौ ५ गतेबाट विभिन्न देवस्थलहरू हुँदै बडिमालिका पुग्नेगरी सामूहिक यात्रा तय गरिएको हो । भैरव देवता धार्मिक समाजले शनिवार भैरवस्थान (देवस्थल)मा पत्रकार सम्मेलन आयोजना गरी धार्मिक तथा पर्यटकीय डोली यात्राबारे जानकारी गराएको छ । सुर्खेत, दैलेख र कालीकोटका प्राचिनमार्ग हुँदै गरिने यात्रामा दुईसय बढी श्रद्धालुहरूको सहभागिता रहने जनाइएको छ । भैरव देवता धार्मिक समाजका अध्यक्ष कृष्ण वस्नेतले संस्कृतिको पुनर्जागरणसँगै धार्मिक, साँस्कृतिक र पर्यटकीय सम्भावनालाई उजागर गर्न डोलीसहित शोभा यात्रा तय गरिएको बताए । उनले प्राचिनमार्ग हुँदै गरिने यो यात्रा धार्मिक मात्र नभइ ऐतिहासिक समेत हुने बताए । वस्नेत भन्छन्, ‘यस यात्राले कर्णालीका पुराना मार्ग, देवस्थल र पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार हुनेछ ।’

वीरेन्द्रनगरस्थित भैरवस्थान देवस्थलबाट श्री भुवनेश्वरी देवीको डोलीसहित प्रारम्भ हुने यात्रा दैलेखको दुल्लू, ज्वाला पञ्चकोशी, पादुका चामुण्डा विन्द्रासैनीको बाटो हुँदै कालीकोटको खुलालु, जितेगडा, शान्तीगाड भएर बडिमालीका पुग्नेछ । विभिन्न देवस्थल तथा प्राचिनमार्ग हुँदै भदौ १० गते बडिमालीका मन्दिर पुग्ने, ११ गते बडिमालिका मन्दिरमा पूजा गर्ने, सोही दिन बेलुका त्रिवेणी धाम फर्कने र १२ गते जनैपूर्णिमा (रक्षा बन्धन) त्रिवेणी धाममा मनाउने गरी यात्रा तय गरिएको छ ।
पत्रकार सम्मेलनमा वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले पनि डोली यात्रामा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । उनले यस यात्राले धार्मिक पर्यटन प्रवर्द्धनसँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको बताए ।

भैरव देवता समाजका उपाध्यक्ष एवम् यात्राका संयोजक धर्मराज रिजालले बडिमालिका डोली यात्रामा इच्छुक जो–कोही सहभागि हुनसक्ने बताए । आयोजकका अनुसार यात्राका सहभागिले आफ्नो खर्च स्वयम् व्यहोर्नुपर्नेछ । यो यात्राले बडिमालिका धार्मिक पर्यटनका लागि नयाँ मार्गको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ ।


कर्मसञ्चार । २०८३ असार २७ गते शनिवार