कालिकोट, ४ भदौ ।
स्थानीय तहले मनपरी कर वृद्धि गरेको गुनासो आइरहँदा कालिकोटको पलाता गाउँपालिकाले स्थानीय नागरिकलाई कर बिनै सेवा सुविधा दिने घोषणा गरेको छ । साउन ३० गते थिर्पूमा बसेको विशेष गाउँ सभाबाट निर्णय गरेरै पलाताका नागरिकलाई मर्का पर्ने गरी कर नलिने घोषणा गर्दै जन्म, मृत्यु, विवाह दर्ता, बसाई सराई, पिछडिएको क्षेत्र सिफारिस, नाता प्रमाणित, नागरिकता सिफारिस जस्ता सेवा निःशुल्क दिने निर्णय गरेको हो ।
जन्म, मृत्यु, विवाह दर्ता, बसाई सराई, नाता प्रमाणित, नागरिकता सिफारिस जस्ता सेवा नि:शुल्क
पलाता कालिकोटको सबैभन्दा विकट क्षेत्रको स्थानीय तह हो । यहाँका नागरिक वर्षेनी खाद्य संकटको मारमा पर्ने गर्छन् । ज्याला मजदुरी गरेर परिवार पाल्ने पलातावासीलाई खेतबारीको उत्पादनले ३ महिना पनि खान नपुग्ने अवस्था छ । गाउँपालिकाका ४६ मध्ये ४३ सदस्यको सहभागिता रहेको विशेष गाउँसभाले कर छुट, पालिकाको केन्द्र धौलागोह २ लोडेमा तोक्ने र ३८ वटा सामुदायिक तथा कबुलीयती वनका चौकीदार नियुक्ति लगायतको निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमको प्रस्तावमा गाउँ सभामा उपस्थित सबै सदस्यले समर्थन जनाएपछि पलाता करमुक्त पालिका बनेको हो । ‘गाउँपालिकामा अधिकांश विपन्न नागरिक मात्र छन् ।’ अध्यक्ष बमले भने, ‘विपन्न नागरिकबाट लिएको करले पालिकालाई केही पुग्दैन ।’ सिफारिसमा लाग्ने रकम बचत हुँदा विपन्नलाई नून, तेल किन्न पुग्ने अध्यक्ष बमले बताए ।
गत वर्षको गाउँ सभाबाट सबै प्रकारका सिफारिस बापत ५० रुपैयाँ लिने निर्णय गरेको गाउँपालिकाले गत असार १२ गतेको प्रथम गाउँसभामा घटाएर २५ मा झारेको थियो ।
त्यही रकम पनि सर्वसाधारणले तिर्न नसक्ने र सिफरिस गर्दा गाउँपालिका अध्यक्ष र वडाध्यक्षले रसिद बोक्नुपर्ने झन्झट भएकाले कुनै शुल्क नलिने निर्णय गरिएको अध्यक्ष बमले बताए । पलाताले गाउँपालिकाबाट निकासी हुने जडिबुटी, व्यवसाय दर्ता र संघ संस्था दर्ता तथा नवीकरणबापतको शुल्क भने लिने जनाएको छ । यहाँबाट निकासी हुनै चिराइतो, घुची च्याउ, समयो, पाखनवेद, पाचऔलेलगायतका जडिबुटीको प्रति केजी ५ रुपैयाँदेखि एक सयसम्म राजश्व तोकको छ ।
गत वर्षसम्म पञ्जीकरणलगायतका काममा न्यूनतम शुल्क लगाइए पनि यही भदौ १ गतेदेखि कूनै शुल्क नलिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्माले बताए । ‘अति विपन्न बस्ने गाउँपालिका भएकाले सबै दैनिक जीवनसँग जोडिएका सामान्य करहरु छुट दिने निर्णय भएको हो ।’ प्रशासकीय अधिकृत कुस्माले भने ‘जगगाको तिरो पनि प्रति घरधुरी ५ रुपैयाँ मात्र छ ।’ गत वर्षदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको पलातामा मदिरा खाने र बेच्नेलाई भने जरिवाना छ । मदिरा सेवन गर्नेले ३ हजार र विक्रि गर्नेले ५ हजार जरिवाना तिर्नुपर्छ ।






कर्मसञ्चार । २०७५ भाद्र ४ गते सोमवार