
जाजरकोट, ९ असोज ।
चाडपर्व नजिकिँदै छन् । बडादसैं आउन केही दिन मात्र बाँकी छ । तर, जाजरकोट बारेकोटवासीलाई भने यतिबेला कसरी पेट भर्ने भन्ने पिरलो छ । त्यहाँ खाद्यसंकट चुलिँदै गएको छ ।
गाउँपालिकामा रहेको खाद्य संस्थानको खाद्य डिपो रित्तै छ । दुर्गम गाउँपालिकाको रूपमा परिचित यो गाउँपालिकामा भएका केही पसलमा समेत चामल छैन ।
केही पसलमा भएको चामल पनि खाद्य संस्थानको मूल्यभन्दा दोब्बर पर्छ जुन किनेर खान सक्ने स्थानीयसँग पैसा छैन । वर्षाले बाटो बिगारिदिएपछि दुई महिनादेखि खाद्य ढुवानी हुन सकेको छैन । गाउँपालिकामा यातायातको सुविधा छैन । ढुवानीको एक मात्र माध्यम घोडा–खच्चड हुन् । ती पनि हिँड्ने बाटो नभएपछि ढुवानी ठप्प छ ।
खाद्यसंकट टार्न केही दिनअघि सदरमुकाम खलंगास्थित संस्थानको गोदामबाट पठाइएको ५१ क्विन्टल चामल बीचबाटो फुलचाउलीमा गएर थन्किएको छ । असिनापानीले हिउँदेबाली नष्ट गरिदिएपछि खाद्यसंकट परेको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए ।
वैशाखमा परेको असिनापानीले किसानले बारीमा लगाएको गहुँ र जौ बालीको बीउ नै नरहने गरी नष्ट गरिदिएपछि बारेकोटवासी दुई महिनादेखि खाद्यसंकट झेल्दै आएका छन् । असिना पीडित किसानलाई निःशुल्क उपलब्ध गराउने गरी ५ हजार क्विन्टल चामल पठाउन सरकारसँग माग गरेको तीन महिना बितिसक्दा पनि सुनुवाइ नभएको अध्यक्ष शाहको गुनासो छ ।
गाउँपालिकाका अधिकांश मानिस गरिबीको रेखामुनि छन् । ‘उनीहरू किनेर खान सक्ने अवस्थामा छैनन् । स्थानीय सरकारसँग बजेट छैन । त्यही भएर यहाँको खाद्यसंकट टार्न संघीय सरकारलाई आग्रह गरेका हौं’, उनले भने, ‘चाडबाड आइरहेको छ । घरमा अन्न छैन ।’
गाउँमा भएको अन्न सकिएको र थप खाद्यान्न ढुवानी नभएपछि भोकभोकै पर्ने अवस्था आएको स्थानीय रणबहादुर सिंहले बताए ।
सरकारले डिपोका लागि चालु आवमा दुई हजार एक सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । उक्त चामल ढुवानी गर्न टेन्डर स्वीकृति गरिसके पनि ढुवानी हुन सकेको छैन ।
सरकारले दुर्गममा खाद्य संस्थानमार्फत ढुवानी अनुदान दिएर सस्तोेमा चामल उपलब्ध गराउने गरेको छ तर डिपोमा चामल नहुँदा स्थानीय मर्कामा पर्दै आएका छन् । ३० केजीको प्रतिबोरा एक हजार दुई सय पर्ने चामल निजी क्षेत्रका व्यापारीले दुई हजार पाँच सय रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । दोब्बर मूल्य हालेर पनि चामल किन्न नपाइने बारेकोट–२ का मनवीरे नेपालीले बताए ।
प्रकाशित मितिः September 25, 2018 at 2:10 pm























कर्मसञ्चार । २०७५ असोज ९ गते मंगलवार