अपाङ्गता समावेशीकरण सम्बन्धी अभिमुखीकरण

सुर्खेत । अपाङ्गता समावेशीकरण तथा संवेदनशीलता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ । नेत्रहीन युवा संघ नेपाल, शाखा सुर्खेतमा सञ्चालित प्रभावकारी सञ्जाल निर्माण (विन) परियोजना अन्तर्गत बुधबार वीरेन्द्रनगरमा विभिन्न गैरसरकारी एवम् नागरिक समाज संंस्थाका प्रतिनिधिहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यशालामा अपाङ्गता समावेशीकरणको अवधारणा, सिद्धान्त, व्यवहारिक पक्ष तथा अपाङ्गताप्रति संवेदनशील सञ्चार र संस्थागत अभ्यासका विषयमा छलफल गरिएको थियो । नेत्रहीन युवा संघ नेपालका अध्यक्ष रामचन्द्र गैरेले अपाङ्गता सम्बन्धी प्रस्तुतिकरण राख्दै अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच, सम्मान र समान सहभागिताको वातावरण निर्माण गर्न कार्यशालाले सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले सरोकारवालालाई समावेशी नीति तथा कार्यक्रम कार्यान्वयनमा आवश्यक ज्ञान, सीप र दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जनाए ।


यस्तै, अधिवक्ता जीवन आचार्यले अपाङ्गता समावेशी विकासबारे प्रस्तुति राखेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई पढ्न, लेख्न, हिँड्न, बोल्न लगायतका काममा सहज वातावरण बनाउनुपर्ने भन्दै सञ्चारको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकताको पहिचान गर्न जरूरी रहेको औंल्याए । कार्यशालाका सहभागिले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सबै निकाय र क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउँदै यस्ता कार्यक्रमले समावेशी समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   July 23, 2026 at 6:31 am 


  • प्रतिक्रिया दिनुहोस्