जुम्लाको स्याउ बोटमै ६० रुपैयाँ केजी

जुम्लाको इतिहासमै बोटमा ६० रुपैयाँ केजीमा स्याउ किसानले बेचेको यो पहिलो पटक हो । गत वर्ष प्रतिकेजी ५० रुपैयाँमा स्याउको किनबेच भएको थियो । स्थानीय तहले स्याउमा कर लगाएपछि किसानले महंगोमा स्याउ विक्री गर्न थालेका हुन् ।

जुम्ला, १७ भदौ ।
जुम्लाको अर्गानिक स्याउ बोटमै ६० रुपैयाँ केजीमा विक्री भइरहेको छ । किसानले स्याउ बेच्नकै लागि बजार धाउनु परेको छैन् । पहिले सदरमुकाम खलंगा बजारसम्म ल्याउदा २० देखि २५ रुपैयाँमा विक्री गर्न बाध्य स्याउ किसानले यो वर्ष भने बोटमै ६० रुपैयाँ प्रतिकेजीमा विक्री गर्न थालेका हुन् ।
अहिले स्याउ व्यापारीले किसानको बगैचामै पुगेर स्याउ किन्ने गरेका छन् । यो सिजनमा विमानस्थल र सदरमुकाम खलंगाका विभिन्न स्थानमा डोकोमा स्याउ बेच्न आउनेको घुइँचो लाग्थ्यो । तर, यो समयमा बगैचामै स्याउ बेच्न किसानलाई भ्याई नभ्याई छ ।
बोटमै भने बमोजिमको मुल्यमा स्याउ बेच्न पाएपछि दुख गरेर बजारसम्म पु¥याउनुपर्ने बाध्यता हटेको चन्दननाथ नगरपालिका ३ का हरेराम भण्डारीले बताए । उनले भने, ‘व्यापारी दैनिक स्याउको लागि बगैचामा पुग्छन्, कसैले नगद दिएर स्याउ स्टोरमा राखिदिन भन्छन, त कसैले बगैचामै पुगेर स्याउ उठाएर लैजान्छन् ।
स्थानीय किसान कालिबहादुर थापाले अहिलेसम्म बोटमै प्रति किलो ६० रुपैयाँ मूल्य पाउदा निकै खुसी भएको बताए ।
जुम्लाको इतिहासमै बोटमा ६० रुपैयाँ केजीमा स्याउ किसानले बेचेको यो पहिलो पटक हो । गत वर्ष प्रतिकेजी ५० रुपैयाँमा स्याउको किनबेच भएको थियो । यसअघि जिल्ला कृषि विकास कार्यालयले ग्रेड विभाजन गरेर स्याउको मूल्य निर्धारण गर्दै आएको थियो । यो पटक किसानले आफ्नो उत्पादनको आफै मूल्य निर्धारण गरेका हुन् । प्रत्येक स्थानीय तहले स्याउमा कर लगाएपछि किसानले महंगोमा स्याउ विक्री गर्न थालेका हुन् ।
गत वर्ष स्याउको मूल्य निर्धारण समितिले एक ग्रेड स्याउको ३५, बी ग्रेडको ३० र सी ग्रेडको २५ रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यहाँ उत्पादित आधा भन्दा धेरै स्याउ नेपालका ठूला शहरसम्म पुग्ने गरेको छ । जिल्ला समन्वय समिति जुम्लाले यहाँका स्थानीय तहसँग समन्वय गरेर भदौ पहिलो साता अघि स्याउ नटिप्न सुझाव दिएको थियो भने भदौ दोस्रो साता अघि स्याउ जिल्ला बाहिर निर्यात गर्न नपाइने गरी परिपत्र गरेको थियो ।

प्रकाशित मितिः   September 2, 2018 at 6:10 pm 


  • प्रतिक्रिया दिनुहोस्