
सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । नेकपा (एमाले) का नेता यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागि सबै मन्त्रीहरूले राजीनामा दिएका हुन् । आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी सहभागी थिए । उनीहरूले बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री कँडेलसमक्ष राजीनामा बुझाएका छन् । मन्त्रीले राजीनामा दिए पनि कांग्रेसले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
अब एमालेसँगको आगामी सत्ता सहकार्यबारे के हुने भन्ने स्पष्ट नभइसकेको कांग्रेस नेताहरूले बताएका छन् । राजीनामा दिएका मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँगको परामर्शमा निर्णय गरिएको जनाएका छन् । कांग्रेसका मन्त्रीहरू बाहिरिएसँगै कर्णाली सरकारको आगामी राजनीतिक समीकरणबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ । कर्णाली प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । त्यस्तै, प्रदेशसभामा नेकपा दोस्रो र एमाले तेस्रो दलका रूपमा छन् ।
प्रकाशित मितिः July 15, 2026 at 2:43 pm


कर्मसञ्चार । २०८३ असार ३१ गते बुधवार