
सुर्खेत । कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा उनीहरुले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको भन्दै उद्धारमा भएको ढिलाइबारे सरकारलाई रुलिङ गर्न माग समेत गरेका छन् । दैलेखमा १८ असारमा भएको गाडी दुर्घटनालाई सरकारले वेवास्ता गरेको उनीहरुको आरोप छ । सांसदहरूले दुर्घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन मागसमेत गरेका हुन् ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, स्थित साङ्गेतडामा बिहीबार बिहान ११ः३० बजे क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक फोर्स गाडी कर्णाली नदीमा खसेको थियो । नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले दुर्घटनाको वास्तविकता तत्काल पत्ता लगाउन आग्रह गरिन् । दिनहुँ जस्तो भइरहेको दुर्घटना रोक्न कर्णालीको सडकको स्तरोन्नती गर्न उनले माग गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले उद्धारमा ढिलो गरेको बताए । यो विषयमा रुलिङ गर्न उनले सभामुखलाई आग्रह गरे । ‘नदीका बीचमा मान्छेले हारगुहार मागीरहेका थिए । एक जना मान्छे भिरमा अड्किएका थिए । तर समयमै उद्धार हुन सकेन’, शाहीले बैठकमा भने, ‘कर्णालीमा बस दुर्घटना सत्यतथ्य पत्ता लगाउन र उद्धारमा भएको जिम्मेवारी निर्धारण गर्न रुलिङ गर्न माग गर्दछु ।’ कर्णाली दुर्घटना र त्यसको उद्धारबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले समेत गृहमन्त्री सुधन गुरुङसँग जवाफ माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कर्णालीमा भएको सवारी दुर्घटनामा कम ध्यान दिएको भनेर ध्यानाकर्षण गरे ।
प्रकाशित मितिः July 6, 2026 at 2:01 pm


कर्मसञ्चार । २०८३ असार २२ गते सोमवार