कर्णाली सरकारले स्थानीय तहका प्रमुख उपप्रमुखको भेला गर्ने

 

सुर्खेत । कर्णाली प्रदेश सरकारले यही कात्तिक २५ र २६ गते स्थानीय तहका प्रमुख/उपप्रमुखको भेला गर्ने भएको छ । पछिल्लो परिवर्तित राजनीतिक अवस्थामा प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित एवम् एकरूपता ल्याउन दुईदिने भेला आयोजना गरिएको हो । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशभित्रका स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतको भेला आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलले जनाएको छ ।
यस्तै, भेलामा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पनि सहभागि हुनेछन् । मुख्यगरी तीनवटा विषयमा भेला केन्द्रित हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले बताए । उनकाअनुसार भेलामा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सेवा प्रवाह, कर्णाली प्रदेशले योजना छनौट सम्बन्धी हाल गरिरहेको अभ्यास र योजना छनौट कार्यविधि तथा स्थानीय तहका कर्मचारी र राजस्व संकलन तथा बाँडफाँट सम्बन्धी छलफल हुनेछ । कर्णाली प्रदेश सरकारले पहिलो पटक योजना छनौट तथा आयोजना बैकको अवधारणाअनुसार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिरहेको छ । भेलामा उक्त अवधारणालाई थप परिमार्जन गर्ने सन्दर्भमा समेत छलफल बताइएको छ ।
तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयमा आधारमा अघि बढनुपर्ने संविधानको मर्म एवम् भावनाअनुरुप प्रदेश तथा स्थानीय तहका सरकारबीचको सम्बन्धलाई थप समन्वयात्मक बनाइ अघि बढाउन विषयगत छलफल आयोजना गरिएको जनाइएको छ । स्थानीय तहको नेतृत्वसँगको छलफल तथा अन्तरक्रियाले दुई तहका सरकारबीच देखिएका कतिपय समस्याको समाधानका उपायहरू खोजिनेछ ।

प्रकाशित मितिः   November 10, 2025 at 1:15 pm 


  • प्रतिक्रिया दिनुहोस्