दैलेख, ८ असोज ।
आठबीस नगरपालिकाका एचआईभी संक्रमितको जीविकोपार्जनमा सहयोग पु¥याउन बाख्रा वितरण गरिएको छ । नगरका ७ जना संक्रमितलाई चार वटाका दरले बाख्रा वितरण गरिएको हो ।
नगरपालिकाको वडा नं. ३, ६ र ८ तथा सोसेक दैलेखले विपन्न एचआईभी संक्रमितका लागि बाख्रा वितरण गरेको छ । संक्रमितको जीविकोपार्जनमा सहयोग पु¥याउन ६८ बाख्रा वितरण गरिएको कृषि प्राविधिक प्रेमा रोकायले बताइन् ।
वडा नं. ६ का ११, वडा नं. ८ का ४ र वडा नं. ३ का २ संक्रमितलाई बाख्रा वितरण गरिएको उनले जानकारी दिइन् । वितरण गरिएका बाख्राको २० हजारका दरले बिमा गरिएको छ । एचआईभी संक्रमित संघर्ष समितिकी अध्यक्ष नानीदेवी शाहीले बाख्रापालनमार्फत आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन् ।
पोषणयुक्त खानाको कमीले संक्रमितको स्वास्थ्य कमजोर बन्दै गएको उनको गुनासो छ । नगरप्रमुख खड्गराज उपाध्यायले बाख्रा वितरणले संक्रमितलाई घरखर्च चलाउन र औषधि उपचार गर्न सहयोग पुग्ने बताए ।
उनले बाख्राको संख्या थपेर संक्रमितलाई व्यावसायिक बन्न मद्दत पुगेको जनाए । कार्यक्रममा चार संक्रमितलाई खुद्रा पसल र एक संक्रमितलाई चिया पसल सञ्चालनका लागि सामग्री प्रदान गरिएको छ । उनीहरूलाई ३४ हजार रूपैयाँका दरले सामग्री वितरण गरिएको हो ।













कर्मसञ्चार । २०७५ असोज ८ गते सोमवार