
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा क्रिकेटको स्थायी संरचना निर्माणको पहल थालिने बताएका छन् । १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताएका हुन् । उनले पछिल्लो समय क्रिकेट खेलप्रति आकर्षण बढिरहेको बताउँदै खेल पूर्वाधारको विकासमा आफूहरू केन्द्रित हुने बताए ।
‘अहिले खेल भइरहेका मैदानहरू अस्थायी हुन्, क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक क्रिकेट मैदान बनाउने छौं,’ मुख्यमन्त्री कँडेलले भने । उनले कर्णालीलाई खेल क्षेत्रको हब बनाउन सीमित स्रोत र साधनबीच पनि प्रदेश सरकारले पूर्वाधारहरू निर्माणलाई जोड दिँदै आएको बताए । मुख्यमन्त्री कँडेलले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तम्तयार रहेपनि संघीय सरकारका कारण ढिलो भइरहेको जिकिर गरे । ‘हामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्ण तयारीमा छौं,’ उनले भने, ‘केन्द्र सरकारका कारण प्रतियोगिता आयोजना हुन सकिरहेको छैन ।’
उनले संघीय सरकारले कर्णालीलाई बजेटमा सधैं उपेक्षा गर्ने गरेको भन्दै वर्तमान सरकारले पनि त्यसैलाई निरन्तरता दिएको जनाए । ‘अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउँछ, अंक आइपुग्दा टिठ लाग्दो हुन्छ,’ उनले भने, ‘अहिलेको संघीय सरकारले पनि त्यसैको निरन्तरता दियो ।’
नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनोट प्रतियोगिता आयोजना गरिएको बताए । पूर्वाधार र खेलाडी अभाव झेलिरहेको कर्णालीबाट महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुको खास अर्थ रहेको उनले बताए । सिंहले भने, ‘क्यानको उद्देश्य कर्णालीबाट क्रिकेटको विकास गर्नु हो ।’
क्यानका कोषाध्यक्ष एवम् कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर खड्काले कर्णालीमा खेलकुद पर्यटनको अधिक सम्भावना रहेको बताए । क्यानले कर्णालीमा क्रिकेटको विकासका लागि महत्वपूर्ण कामहरू गरिरहेको बताउँदै उनले आगामी दिनका पनि यसलाई निरन्तरता दिइने बताए । प्रदेश सरकारले क्रिकेटका पूर्वाधार निर्माण गरिदिए त्यसको संरक्षण, रेखदेख र थप विकासका लागि क्यानले सहयोग गर्ने खड्काको भनाइ छ । उनका अनुसार कर्णालीमा आयोजना भइरहेको १९ वर्षमुनिको राष्ट्रिय महिला प्रतियोगिताबाट राष्ट्रिय टिम छनोट गरिने र सोही टिमले सन् २०२७ मा आयोजना हुने विश्वकपमा सहभागिता जनाउनेछ ।
शुक्रवारदेखि वीरेन्द्रनगरमा सुरू भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख र उपविजेता टोलीले तीन लाख प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) लाई ४० हजार, उत्कृष्ट ब्याटरलाई २५ हजार, उत्कृष्ट बलरलाई २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई जनही तीन हजार प्रदान गरिनेछ ।
प्रकाशित मितिः June 5, 2026 at 1:01 pm













कर्मसञ्चार । २०८३ जेष्ठ २२ गते शुक्रवार