सुर्खेत, २८ भदौ ।
पश्चिम सुर्खेतका बावियाचौर इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख दिपक दाहालले सवै काम एक्लै गरिरहेका छन् । गत असार २४ गते तत्कालीन कार्यालय प्रमुख प्रकाश न्यौपानेको काज फिर्ता भएपछि इलाका प्रशासन करिव डेढ महिनासम्म कार्यालय प्रमुखविहीन बन्यो ।
भदौ ५ गतेदेखि शाखा अधिकृत दिपक दाहाल कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्ने वित्तिकै नायब सुव्वाको पनि काज फिर्ता भएपछि अहिलेसम्म इलाका प्रशासन नायव सुव्वाविहीन बनेको छ ।
तीन जना सुव्वाको दरवन्दी भएको सो कार्यालयमा अहिले सुव्वा कोही पनि छैनन् । कार्यालय प्रमुख दाहालले खरिदार, सुव्वा र कार्यालय प्रमुखको काम एक्लै गरिरहेका छन् ।
प्रमुख दाहालका अनुसार भदौ ५ गते आफू हाजिर भएकै दिन नासु कालिप्रसाद पौडेलको काज फिर्ता भएको हो । नासु पौडेल गएपछि सवै काम आफूले नै गरिरहेको प्रमुख दाहालले बताए । खरिदार दरवन्दी कार्यालयमा छैन । सवै काम आफूले नै गरिरहेको हुँदा सहज र छिटो सेवा प्रवाहमा कठिनाइ आएको प्रमुख दाहालले बताए ।
२०७३ चैत महिनादेखि पश्चिम सुर्खेतको साविकका ११ वटा गाबिसका बासिन्दालाई मध्यनजर गर्दै बावियाचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी सरकारी सेवा प्रवाह गरिएको थियो । इलाका प्रशासनले नागरिकता बनाउने, मतदाता नामावली बनाउने, अद्यावधिक गर्ने, सिफारिस गर्ने, अनुगमन गर्नेलगायका काम गर्दै आएको छ ।
आफू कार्यालयमा हाजिर भएदेखि करिव एक सय नागरिकता वितरण गरिसकेको उनले जानकारी दिए । दैनिक कम्तीमा १० जना सेवाग्राही नागरिकता बनाउन आउने गरेका छन् । नायब सुव्वा रिक्त भएपछि जिल्ला प्रशासनलगायत सम्बन्धित कार्यालयमा ताकेता गरिसकेको उनले बताए । कार्यालय प्रमुख दाहालले जिल्ला प्रशासनलगायत सरोकारवाला निकायमा कि काज फिर्ता गर कि नयाँ दरवन्दी अनुसारको कर्मचारी पठाउ भनेर माग गरिरहेको जानकारी दिए । तर अहिलेसम्म सुनुवाई नभएको उनको गुनासो छ ।
यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले इलाका प्रशासन कार्यालय नासुविहीन हुँदा त्यहाँका कार्यालय प्रमुखलाई सेवा प्रवाहमा समस्या परेको बताए । उनले जिल्लामा नासु नहुँदा त्यहाँ पठाउन नसकिएको र मन्त्रालयमा माग गरिएको जानकारी दिए । सवै काम कार्यालय प्रमुखले गर्नुपरेको भन्दै नासु ल्याउन पहल भइरहेको तर कहिलेसम्म आउने भन्न नसक्ने प्रजिअ यादवले बताए ।
२०७३ चैत महिनादेखि पश्चिम सुर्खेतको साविकका ११ वटा गाबिसका बासिन्दालाई मध्यनजर गर्दै बावियाचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी सरकारी सेवा प्रवाह गरिएको थियो । इलाका प्रशासनले नागरिकता बनाउने, मतदाता नामावली बनाउने, अद्यावधिक गर्ने, सिफारिस गर्ने, अनुगमन गर्नेलगायका काम गर्दै आएको छ ।













कर्मसञ्चार । २०७५ भाद्र २८ गते बिहीवार