
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले कर्णालीका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो । प्रत्यक्षतर्फ पहिलो भएको कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएको छ । कांग्रेसले प्रदेशभर कुल एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो भएको छ । प्रत्यक्षमा एक सिट जितेको रास्वपाले कर्णालीबाट समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मत पाएको हो । यस चुनावमा नेकपा (एमाले) तेस्रो भएको छ । प्रत्यक्षमा एक सिट हात पारेको एमालेले समानुपातिकमा एक लाख २० हजार ८६३ मत मात्र पाएसँगै तेस्रोमा झरेको हो । २०७९ को निर्वाचनमा कर्णालीबाट समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो । फागुन २१ को निर्वाचनामा एमालेलाई कांग्रेस र रास्वपाले उछिनेका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ चार वटा क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार उक्त दलले समानुपातिकमा एक लाख सात हजार १०१ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशैभरमा कर्णालीबाट मात्रै प्रत्यक्षमा एक सिट जितेको छ । राप्रपाले कर्णालीमा समानुपातिकमा १५ हजार ७५५ मत पाउँदा अन्य दलको मत भने १० हजारभन्दा कम छ ।
प्रकाशित मितिः March 11, 2026 at 1:02 pm























कर्मसञ्चार । २०८२ फागुन २७ गते बुधवार