कक्षा १२ को नतिजा सार्वजनिकः ६१ प्रतिशत उत्तीर्ण

कर्णाली प्रदेशबाट २५ हजार ४ सय ५८ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार ७ सय ७७ अर्थात ५० दशमलव १८ प्रतिशत विद्यार्थी ग्रेडिङ भएका छन् ।

काठमाडौँः कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सोमवार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो ।
कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ३ लाख ९६ हजार ३ सय ४७ र आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० जनाले विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये, परीक्षामा यो वर्ष ६१.१७ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ (उत्तीर्ण) मा परेका छन् । गत वर्षको तुलनामा यसपालि ९.०२ प्रतिशत विद्यार्थी उच्च शिक्षामा भर्नाका लागि योग्य भएका हुन् । गत वर्ष ५२.१५ प्रतिशत विद्यार्थी मात्र ‘ग्रेडिङ’ मा परेका थिए । नतिजाअनुसार नियमिततर्फका परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४ सय ६५ जना ‘ग्रेडेड’ भएका छन् । ‘ननग्रेडेड’ १ लाख ५३ हजार ८ सय ८२ परीक्षार्थीले तत्काल माथिल्लो तहमा भर्ना हुन पाउँदैनन् । दुई विषयसम्म ‘ननग्रेडेड’ विद्यार्थीका लागि २८ र २९ भदौमा ग्रेडवृद्धि परीक्षा हुनेछ ।

बोर्डका अनुसार आंशिकतर्फ परीक्षा दिएकामा ४१ हजार ८ सय ४० जना (३६.४९ प्रतिशत) ले मात्र ‘ग्रेड’ प्राप्त गरेका छन् । यसमा ‘ननग्रेडेड’ ७२ हजार ८ सय विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा पनि सहभागी हुन पाउँदैनन् । नियमिततर्फ दुईभन्दा बढी विषयमा ‘ननग्रेडेड’ विद्यार्थीसँगै उनीहरूले आउँदो वैशाखको वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ । नियमिततर्फको समग्र नतिजामा सुधार देखिए पनि गत वर्ष जस्तै कर्णाली, मधेश, सुदूरपश्चिम, लुम्बिनी र कोशीको नतिजा राष्ट्रिय औसतभन्दा कमजोर छ । विद्यार्थी संख्या धेरै रहेको बागमती र गण्डकी प्रदेशको नतिजा मात्रै राष्ट्रिय औसतभन्दा राम्रो छ । परीक्षामा कर्णाली प्रदेशबाट २५ हजार ४ सय ४८ जना परीक्षार्थी सहभागि भएकोमा १२ हजार ७ सय ७७ अर्थात ५० दशमलव १८ प्रतिशत विद्यार्थी ग्रेडिङ भएका छन् ।

शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो । बोर्डले यस वर्ष वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो । कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ ।c

प्रकाशित मितिः   August 5, 2025 at 9:10 am 


  • प्रतिक्रिया दिनुहोस्