सुर्खेत, ३ भदौ ।
नेपाल युवा परिषद्ले आयोजना गरेकोे ‘राष्ट्रिय युवा सम्मेलन २०१८’ ले कर्णाली प्रदेशका युवालाई स्थानीय खाद्यान्नको प्रबर्द्धन गर्न ७५ हजारको कार्ययोजना दिएको छ । सबै प्रदेशलाई ७५ हजार रुपैयाँ बराबरको कार्ययोजना दिइएको हो ।
काठमाडौंमा ३ दिनसम्म चलेको सम्मेलनपछि सहभागीले पेश गरेको परियोजना मध्येबाट छनौट गरेर सहयोग गरिएको हो । सहभागी युवाहरुले आ–आफ्नो प्रदेशस्तरिय ७/७ वटा कार्ययोजना तयार पारेका थिए । त्यसमध्ये प्रत्येक प्रदेशबाट उत्कृष्ट १/१ वटा कार्ययोजना छनोट गरिएको थियो ।
यस्तै, प्रदेश नं १ मा तनाव ब्यवस्थापन सम्बन्धि कार्ययोेजना छनोट भयो भने प्रदेश नं २ का लागि ४० जना युवाहरुलाई प्रत्यक्ष रुपमा स्वरोजगार तालिम दिने योजना छनोट भएको छ । प्रदेश नं ३ मा फोहोरमैला व्यवस्थापन गरी उद्यमशिलताको व्यवस्थापन गर्ने, प्रदेश नं. ४ गण्डकीको लागि ११० किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम दिने, प्रदेश नं. ५ मा उद्यमशिलता तथा प्राबिधिक शिक्षा र प्रदेश नं. ७ का लागि पर्यटन क्षेत्रको प्रबर्द्धन गर्नको लागि त्यस्ता स्थानको पहिचान गरी सामाजिक सञ्जालमा राख्ने तथा त्यससँग सम्बन्धित वेबसाइट बनाउन युवालाई तालिम दिने योजना छानिएको छ ।
छनोट समितिमा स्नेहाराज भण्डारी, राजन कोइराला र हेमपाल श्रेष्ठ थिए । युएन नेपालसँगको मुख्य सहकार्यमा आयोजित सम्मेलनमा कृषि, पर्यटन, सूचना प्रविधि र युवा उद्यमशिलता बिषयमा बिभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।













कर्मसञ्चार । २०७५ भाद्र ३ गते आइतवार