प्रकाण्डलाई उद्योगमा आगजनी गरेको मुद्दा

काठमाडौँ, ३ भदौ ।
नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाका प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई क्रसर उद्योगमा आगजनी गर्ने समूहको मुख्य अभियुक्त रहेको प्रहरीले दावी गरेको छ । आगजनी गरेको मुद्दामा पक्राउ परेका नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त) समेतलाई प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले प्रकाण्डलाई पनि सोही मुद्दामा मुछेको हो ।
काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले पक्राउ परेका तीनजनालाई संगठित अपराधमा म्याद लिएर अनुसन्धान हुने बताए । यसअघि नै पक्राउ परेका धमला र कार्की बिरुद्ध अनुसन्धान भईरहेको खड्काले जानकारी दिए । ‘आजै (आइतबार) उहाँलाई अदालतमा उपस्थित गराउँदै छौँ’ खड्काले भने, ‘उहाँले क्रसरमा आगजनी गरेको अभियोगमा अनुसन्धान जारी छ ।’

कांग्रेस नेता कुन्साङ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत १ बैशाखमा बिप्लब समूहका कार्यकर्ताले आगजनी गरेका थिए । आगजनीमा २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो । जबर्जस्ती चन्दा असुलीको अभियोगमा पक्राउ परेका प्रकाण्डलाई शुक्रबारै न्यायाधीशद्वय चोलेन्द्र समशेर जबरा र तेजबहादुर केसीको इजलासले रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि अदालतबाट बाहिरिँदै गर्दा प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेर शुक्रबार राती काभ्रे प्रहरीलाई बुझाएको थियो ।

प्रकाशित मितिः   August 19, 2018 at 12:51 pm 


  • प्रतिक्रिया दिनुहोस्