एमाले सचिवमा यामलाल कँडेलको उम्मेदवारी

सुर्खेत । नेकपा (एमाले) को ११औं महाधिवेशनमा सचिव पदमा यामलाल कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान स्थायी कमिटी सदस्य कँडेलले ओली समूहबाट सचिवमा उम्मेदवारी दिएका हुन् । कँडेलको प्रस्तावकमा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह छन् भने सुर्खेत अध्यक्ष कुलमणि देवकोटाले समर्थन गरेका छन् । सचिवमा कँडेलको मनोनयन दर्ता भएसँगै कर्णालीले पहिलो पटक एमालेको पदाधिकारी पाउने करिब निश्चितजस्तै भएको छ ।

कर्णालीका प्रतिनिधिहरुले प्रदेशबाट निर्विकल्प पदाधिकारीका रुपमा अघि बढाएपछि कँडेलले सचिवमा उम्मेदवारी दिएको प्रेस चौतारी नेपालका कर्णाली प्रदेश इञ्चार्ज याम शर्माले जनाए । लामो राजनीतिक अनुभव भएका कँडेल स्पष्ट वक्ता, निडर व्यक्तित्व, उच्च नैतिक चरित्र, कुशल संगठक र अब्बल नेतृत्व क्षमता भएका नेताका रूपमा परिचित छन् । २०४७ सालदेखि एमालेमा संगठित कँडेलसँग पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । एमालेका प्रभावशाली नेताको सूचीमा पर्ने उनी संसदीय फाँटमा पनि उत्तिकै अनुभवी छन् । हाल कर्णाली प्रदेश सरकारका मुख्यन्त्री रहेका कँडेल २०५५ मा नेपाल सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्री भइसकेका नेता हुन् । यस्तै, २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुख, २०५१ र २०६४ मा प्रतिनिधिसभा सदस्य, २०७४ र २०७९ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कर्णालीमा बलियो जनाधार भएको नेताका रुपमा चिनिने कँडेल सुर्खेतको वीरेन्द्रनगर–४ का स्थायी बासीन्दा हुन् ।

प्रकाशित मितिः   December 15, 2025 at 3:40 pm 


  • प्रतिक्रिया दिनुहोस्