यस्ता छन् नेकपा केन्द्रीय सचिवालय बैठकका तीन एजेण्डा

काठमाडौं, ६ मंसिर ।

नेकपा केन्द्रीय सचिवालयको बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। तत्काल बैठक नबसे बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गर्ने स्थायी समितिका सदस्यहरुको चेतावनीपछि आज बैठक बस्न लागेको हो।

आजको बैठकका मुख्य दुई एजेण्डाहरुमा ‘सांगठनिक एकताको कामलाई चाँडो भन्दा चाँडो टुङ्ग्याउने र सरकारको समीक्षा गर्ने’ भन्ने छन्। यद्यपी बिहीबार पार्टीका केही युवा नेताहरुले बुझाएको ज्ञापनपत्रपनि आजको बैठकको एजेण्डामा थपिनेछन्।

केन्द्रीय सदस्य डा बिजय पौडेलको नेतृत्वमा १८ जना युवा केन्द्रीय सदस्यहरुले ८ बुँदे ज्ञापन पत्र महासचिव बिष्णु पौडेलमार्फत् बुझाएका थिए।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा पोलिटव्यूरो तत्काल गठन गरिनुपर्ने र नियमित रुपमा बैठक बोलाइनु पर्ने, पार्टी सचिवालायलाई सर्वैसर्वा बनाउन नहुने’ माग गरिएको छ।

यसैगरी, ‘छिटो छरितो प्रक्रियाबाट पार्टी एकिकरणका काम टुङ्ग्याउनु पर्ने, सरकार र संसदीय दल सञ्चालनबारे, सुशासन कायम गर्नेबारे’ भन्ने माग पनि उनीहरुको छ।

‘सादा जीवनशैली र आचरणबारे’ र ‘बैचारिक दिशाबोधबारे’ भन्ने विषयलाई पनि उनीहरुले आफ्नो मागपत्रमा समावेश गरेका छन्।

पौडेलको अगुवाईमा मागपत्र राख्ने केन्द्रीय सदस्यहरुमा, जगन्नाथ खतिवडा, शत्रुघन महतो, ममत गिरी, जयन्ती राई, गरिमा शाह, निरज आचार्य, भाष्कर काफ्ले छन्।

यसैगरी केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, प्रेमलकुमार खनाल, माधव अर्याल, विजय गुरुङ, तुलबहादुर गुरुङ, यदुबंश झा, रचना खड्का, बिरोध खतिवडा र रबिन कोइराला छन्।

प्रकाशित मितिः   November 22, 2018 at 2:56 pm 


  • प्रतिक्रिया दिनुहोस्