एमाले महाधिवेशनः कँडेलको पक्षमा कर्णाली एकढिक्का !

सुर्खेत । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। एमालेको इतिहासमा कर्णालीले पहिलोपटक पदाधिकारीको उम्मेदवार पाएको छ । निवर्तमान स्थायी कमिटी सदस्य यामलाल कँडेल सचिव पदको उम्मेदवार बनेका छन्। उनै नेता कँडेललाई सचिवमा विजयी बनाउन कर्णाली एकताबद्ध भएको  हो। एमाले कर्णाली प्रदेश कमिटीसहित १० वटै जिल्ला र प्रदेश सम्पर्क समन्वय कमिटीले कँडेललाई मतदान गर्न प्रतिनिधिहरुलाई संयुक्त अपिल जारी गरेका हुन्। पदाधिकारीमा पहिलोपटक कर्णालीको ‘इन्ट्री’ हुने भएपछि प्रतिनिधिहरु निकै उत्साहितसमेत छन् । कँडेलप्रति अन्य प्रदेशका प्रतिनिधिहरुको पनि बलियो समर्थन रहेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेना बताउँछन्। उनी भन्छन्, ‘पार्टीका अनुभवी, जुझारु र प्रभावशाली नेता कँडेललाई जिताउन कर्णाली एकठाउँमा उभिएको छ, देशैभरका प्रतिनिधिहरुको साथ रहने पक्का छ ।’ कर्णालीमा एमालेको गुटगत राजनीतिको प्रभाव छैन। यहाँका अधिकांश नेता–कार्यकर्ता अध्यक्ष केपी शर्मा ओली अर्थात् संस्थापन पक्षका छन्।

प्रकाशित मितिः   December 16, 2025 at 7:19 pm 


  • प्रतिक्रिया दिनुहोस्