बक्स अफिसको फाइदा : सिनेमा हलमा ढाँट्ने दिन गए

नेपालमा बक्स अफिसको चर्चा हुन थालेको लामो समय भयो । हलिउड-बलिउडमा लामो समयदेखि लागू भइरहेको यो प्रणाली नेपालमा पनि सुरु हुँदा बुझेर वा नबुझेर धेरै चलचित्रकर्मीहरुमा एक प्रकारको खुशी देखिएको छ । केही चलचित्रकर्मीहरु बक्स अफिस लागू गर्नका लागि आफूले भूमिका खेलेको भन्दै क्रेडिट लिने कोशिशमा छन् ।

तर, कतिपयले भने यसलाई बक्स अफिस नभएर ‘ई-टिकेटिङ्ग’ मात्रै भएको भन्दै आलोचना गरिरहेका छन् । अर्कोतिर, अब सिंगल स्क्रिन हलहरु बन्द हुन्छन् भन्नेखालका हल्ला पनि फैलिएका छन् ।

के हो बक्स अफिस ?

बक्स अफिस लागू भएको घोषणा राज्यले गरिरहँदा आखिर, यसको अर्थ के हो र यो लागू भएपछि के परिवर्तन आउँछ भन्ने कतिपयमा अन्योल देखिएको छ ।

सरल भाषामा भन्नुपर्दा बक्स अफिस भनेको टिकट काट्ने काउन्टर हो । कुनै पनि दर्शकले हलमा पुगेर जब कुनै चलचित्रका लागि टिकट काट्छ, त्यही स्थानलाई बक्स अफिस भनिन्छ । तर, यसमा केही प्राविधिक पक्ष पनि जोडिएका हुन्छन् ।

हलमा २ प्रकारले टिकट बिक्री हुन्छ । एउटा म्यानुअल र अर्को डिजिटल । बक्स अफिस सर्भरका लागि ई-टिकेटिङ अनिवार्य चाहिन्छ ।

साउन १ गतेबाट सुरु भएको प्रणाली, ई-टिकेटिङसँगै डाटा सेन्टर सर्भिस हो । अर्थात, ई-टिकेटिङ मार्फत टिकट विक्री गर्दै आएका सम्पूर्ण हलको व्यापारको रिपोर्ट अब एउटा सर्भरमा केन्द्रित हुन्छ । यसबाट हरेक हलमा विक्री हुने टिकटको संख्या निर्माताले अनलाइनमार्फत सोही समयमा थाहा पाउन सक्छन् । एउटा शोमा ई-टिकेटिङ जडित कुन हलबाट कति कारोबार भयो भन्ने निर्माताले मोबाइबाटै थाहा पाउन सक्छन् ।

बक्स अफिस लागू भएपछि अब विगतमा जसरी चुरोटको बट्टामा व्यापारको विवरण लेखेर हलवालाले निर्मातालाई बुझाउने परिपाटी अन्त्य हुने र चलचित्रको व्यापार पारदर्शी हुने विश्वास लिइएको छ ।

आफ्नो फिल्मको व्यापार हेर्न निर्माताले बक्स अफिस लग इन गर्नुपर्नेछ । यसमा प्रवेश गरेपछि आफूलाई प्राप्त युजर नेम र पासवोर्ड हालेर आफ्नो चलचित्रको व्यापार हेर्न सकिन्छ ।

बक्स अफिसमार्फत पाइने व्यापारको आँकडा निर्माता, प्रदर्शक, हल सञ्चालक र राज्यले हेर्न सक्छन् । निर्माताले चाहेको खण्डमा अन्य व्यक्तिलाई अधिकार दिन सक्नेछन् । यसका लागि निर्माताले चलचित्र सेन्सर भएको प्रमाणपत्र, आफ्नो चलचित्रको रिलिज डेट, बितरकको नाम सहितको विवरण चलचित्र विकास बोर्डलाई बुझाउनुपर्नेछ ।

प्रकाशित मितिः   July 23, 2018 at 7:10 am 


  • प्रतिक्रिया दिनुहोस्