काठमाडौँ, २६ असार । सरकारले प्राविधिक धारतर्फ कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले यही असार २० गते जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पत्र पठाई २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० मा सहभागी भई ग्रेड प्वाइन्ट एभरेज (जिपिए) न्यूनतम १ दशमलव ६ र कक्षा ११ मा भर्ना हुँदा त्यस धारमा न्यूनतम १५ विद्यार्थी भई पूर्वाधार पूरा गरेका सामुदायिक विद्यालयमा सो कक्षा थप्ने अनुमतिका लागि सिफारिस गर्ने मापदण्ड पठाएको हो ।
विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत कक्षा ९ देखि प्राविधिक धारको प्रबन्ध हुन थालेको करीब पाँच वर्ष भए पनि कक्षा ११ मा भर्ना हुन सीमित विद्यालय मात्र रहेका स्थितिमा सो निर्णयले प्राविधिक शिक्षाका विद्यार्थी तथा अभिभावकलाई सहजता मिल्नेछ । प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा र आवश्यकतानुसारको स्थलसहितको पूर्वाधार भई कक्षा नौमा सो धारको अनुमति लिएका सामुदायिक विद्यालयमा प्राविधिक कक्षा थप हुनेछ । आवश्यक बजेट र शिक्षक दरबन्दीको प्रबन्ध पनि गरिएको विभागले जनाएको छ ।
गत वर्षको एसइई परीक्षामा कूल चार लाख ५१ हजार ५३२ विद्यार्थी सहभागी भएकामा प्राविधिक धारतर्फ पाँच हजार पाँच सय ८४ छात्र र तीन हजार ३२२ छात्रा गरी आठ हजार ९०६ विद्यार्थी थिए । तीमध्ये अधिकांश सफल भएका छन् । जिपिए १ दशमलव ६ भन्दा कम ल्याउने २०४ मात्र छन् । हालसम्म १८५ सामुदायिक विद्यालयमा मात्र प्राविधिक शिक्षाका कार्यक्रम चलेका थिए ।
सरकारले प्राविधिक शिक्षा धारको प्रतिशतलाई वृद्धि गर्दै लाने नीति लिएपछि कक्षा ११ सञ्चालन र पूर्वाधार पूरा भएका सामुदायिक विद्यालयमा कक्षा थपको निर्णय भएको विभागका उपनिर्देशक हरिप्रसाद अर्यालले बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) का शिक्षालय र पाठ्यक्रमले मात्र बजारको आवश्यकता धान्न नसक्ने भएकाले मूलधारका विद्यालयमा प्राविधिक शिक्षा प्रवेश गराइएको हो ।
प्रकाशित मितिः July 23, 2018 at 7:21 am













कर्म संचार । २०७५ साउन ७ गते सोमवार