
काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो। १४ औं महाधिवेशन २०७८ मसिर २४ देखि २८ गतेसम्म भएको थियो। त्यसअनुसार यही मंसिर २३ गते म्याद सकिने भएको र पुसमा महाधिवेशन गर्ने भएकोले माघ मसान्तसम्म म्याद थप गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
लामो रस्साकस्सीपछि अन्ततः कांग्रेसले आगामी पुस २६ देखि २८ गते सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । डेढ महिनासम्म चलेको बैठकको बिट मार्दै कांग्रेसले सोमबार १५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसका लागि २० मंसिरभित्र क्रियाशील सदस्यताको फाराम पठाएर ५ पुसभित्र सदस्यता टुंग्याइसक्ने निर्णय कांग्रेसको छ । तालिकाअनुसार गाउँ/नगर/वडा अधिवेशन २०८२ पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशनः १७ पुस २०८२, प्रदेशसभा क्षेत्रीय अधिवेशन १९ पुस, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन): २१ पुस २०८२ मा गर्ने उल्लेख छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २२ पुस २०८२, प्रदेश अधिवेशन २४, २५ र २६ पुससम्म गर्ने र केन्द्रीय महाधिवेशन २६, २७ र २८ पुसमा काठमाडौंमा गर्ने निर्णय कांग्रेसले गरेको हो । सो कार्यतालिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा पेस गरेका हुन् ।
प्रकाशित मितिः December 1, 2025 at 4:15 pm






कर्मसञ्चार । २०८२ मंसिर १५ गते सोमवार