एमाले सुर्खेतले सुरू गर्‍यो पार्टी कार्यालय पुनर्निर्माण अभियान

सुर्खेत । नेकपा (एमाले) सुर्खेतले जिल्ला पार्टी कार्यालयको पुनर्निर्माण अभियान थालेको छ । गएको भदौ २३ र २४ मा भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षती भएको थियो । पार्टी कार्यालयलाई पहिलेकै अवस्थामा सञ्चालन तथा व्यवस्थापन गर्न स्वैच्छिक सहयोग संकलन अभियान थालिएको हो । एमाले सुर्खेतका उपाध्यक्ष मोहनसिंह बडुवालका अनुसार ‘हामी बनाउछौं, हाम्रो पार्टी कार्यालय’ अभियान सुरुवात गरेको पहिलो दिन आज (असोज–२९) मा झन्डै डेढ लाख रुपैयाँ संकलन भएको छ । उक्त रकम जिल्ला कमिटीका पदाधिकारी र केही सदस्यहरूले सहयोग गरेका हुन् ।
पार्टी कार्यालय निर्माणको यो अभियानमा पार्टीका नेता–कार्यकर्तालगायत शुभेच्छुकहरूमा एमाले सुर्खेतले सहयोगका लागि अपिलसमेत गरेको छ । अभियान निरन्तर सञ्चालन हुने र सहयोग गर्ने व्यक्तिहरूको नामावली दैनिक रुपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ । यसअघि राम्रो व्यवस्थापनका साथ सञ्चालन भइरहेको कार्यालयलाई पुनः उही अवस्थामा फर्काउन पार्टी सम्बद्ध सबैमा हातेमालोका लागि अनुरोध गरिएको एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए ।

प्रकाशित मितिः   October 15, 2025 at 2:18 pm 


  • प्रतिक्रिया दिनुहोस्