
सुर्खेत, १३ मंसिर ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) का उपकुलपति उपेन्द्र कुमार कोइरालाले आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुलाई बिहिबार निर्देशन दिएका छन् । उपकुलपति कोइरालाले वीरेन्द्रनगरमा भेला भएका १० क्याम्पसका प्रमुखहरुलाई विश्वविद्यालयको हितमा काम गर्नुपर्ने भन्दै आवश्यक १० बुद्दे निर्देशन दिएका हुन् ।
विश्वविद्यालय सभाले भदौ ११ देखि लागू हुनेगरी आंगिक क्याम्पस सञ्चालन सम्बन्धी गरेको निर्णय पूर्ण कार्यान्वयन गर्न नसक्दा आफूलाई पीडा भएको कोइरालाले बताए ।
यस्ता छन् निर्देशनः
१. तपाईंहरुनै आफ्नो क्याम्पसको भिसी हो विश्वविद्यालयलाई विधिमा सञ्चालन गर्नुहोस् ।
२. लोकतन्त्रमा राजनीतिक आस्था हुनु स्वाभाविक भएपनि पार्टीको झण्डा बोकेर क्याम्पसको काम नगर्नुस् ।
३. सभाको निर्णयको अवमूल्यन हुनेगरी क्याम्पस प्रमुखहरुको नियुक्तिपश्चात् पनि व्यवस्थापन समिति मातहत काम गर्नु भनी गरिएको परिपत्र आधिकारिक होइन । भ्रममा नपर्नुहोस् ।
४. ऐन नियम बमोजिम उपकुलपतिप्रति जवाफदेही बन्नुहोस् ।
५. जे पनि गर्न मिल्छ भन्ने सोच त्याग्नुस् । परिपक्वता प्रदर्शन गर्नुहोस् ।
६.शिक्षक कर्मचारीको नियुक्ति सम्बन्धमा सभाले उपकुलपतिलाई सम्पूर्ण जिम्मेवारी दिएकाले सबैको कागजात हेरेर मात्र नियुक्ति दिइन्छ । सबै प्रमाण उपकुलपतिकहाँ पठाउनुहोस् ।
७. म तपाईंहरुको पक्षमा छु । तपाईंहरु विश्वविद्यालयको पक्षमा लाग्नुहोस् ।
८. पठनपाठन नियमित गर्नुहोस् । विद्यार्थीको भविष्यबारे चिन्तित बन्नुहोस् ।
९. प्राज्ञिक सवालमा डीन र आर्थिक विषयमा रजिष्ट्रारलाई लेख्नुहोस् । पत्राचार गर्दा उपकुलपतिलाई अवगतार्थ लेख्नुहोस् ।
१०. तपाईंहरु जिम्मेवार व्यक्ति भएकोले हरेक काममा समन्वय गर्नुहोस् ।













कर्मसञ्चार । २०७५ मंसिर १३ गते बिहीवार