
सुर्खेत । नेकपा (एमाले) ले आज सुर्खेतका ९९ वटै वडामा जनभेला गरेको छ । एमाले सुर्खेतले केन्द्रीय कमिटीको सर्कुलर तथा जिल्ला कमिटीको निर्णयबमोजिम एकैदिन एकै समयमा सबै वडामा भेला आयोजना गरेको हो ।
एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जिल्लाभरका वडामा एकैसाथ आयोजित जनभेलामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको बताए । ‘एमालेले सिंगो पार्टी पङ्क्तिलाई संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि मैदानमा उतारेको छ,’ उनले भने, ‘वडाहरूमा आयोजित भेलामा उल्लेखनीय र उत्साहजनक सहभागिता रह्यो ।’ एमाले सुर्खेतको सचिवालय सदस्यसमेत रहेका तिमिल्सेनाका अनुसार भेलामा केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी तथा विभागमा रहेका पदाधिकारी तथा सदस्यहरूले सम्बोधन गरेका छन् । शान्ति, संविधान र लोकतन्त्रको पक्षमा तथा प्रतिगमन षडयन्त्रविरुद्ध एमालेले प्रदर्शन गरिरहेको नेताहरूको भनाइ छ ।

संविधानविपरीत प्रतिनिधि सभा विघटन गरेर अहिलेको सरकार बनाइएकाले संसद पुनःस्थापनाबाट मात्रै समस्याको समाधान हुने एमालेको ठहर छ । यस्तै, पार्टीले देशैभर एमालेका कार्यालय र नेताका घर जलाउने, तोडफोड गर्ने तथा सरकारी संरचनामा आगो लगाउनेहरूविरुद्ध कारवाहीको माग गर्न जनप्रदर्शन गर्न सर्कुलर गरेको छ । एमालेले अहिलेको अवस्थामा भइरहेको चलखेलका विषयमा पार्टीका धारणा सार्वजनिक गर्न देशैभर भेलाहरू आयोजना गरेको हो । कात्तिक २२ गते (आज) सुर्खेतसहित देशभरका ६ हजार ७४३ वटै वडामा जनभेला भएका छन् भने २५ गते पालिकास्तरीय जनप्रदर्शन र २९ गते जिल्लास्तरीय जनसभा हुने एमालेले जनाएको छ ।
प्रकाशित मितिः November 8, 2025 at 5:10 pm


कर्मसञ्चार । २०८२ कार्तिक २२ गते शनिवार