
सुर्खेत । नेपालका लागि फिनल्याण्डका राजदुत पेट्री पुहक्काले मध्यपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमण गरेका छन् । पेट्रीसहितको टोलिले शुक्रवार विश्वविद्यालय परिवारसँगै सरोकारवाला पक्षसँग भेटघाट तथा छलफल गरेको छ । पेट्रीले नेपालका विश्वविद्यालयमध्ये आफूले पहिलोपटक मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरेको बताए । यस भ्रमणले आफू निकै उत्साहित भएको भन्दै उनले आगामी दिनमा एक-आपसमा गर्न सकिने थप सहकार्यका लागि जोड दिइने जनाए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले नेपाल र फिनल्याण्ड बीचको सम्बन्ध मित्रतापूर्ण एवम् विकास सहयोगमा आधारित भएको बताउँदै राजदूतको भ्रमणले आगामी दिनमा सहकार्यको ढोका खुल्ने अपेक्षा गरिएको बताए । ‘सहयोगको एउटा महत्वपूर्ण क्षेत्र शिक्षाको विकासमा यस विश्वविद्यालयमार्फत थप सहकार्यको वातावरण बन्ने विश्वास लिएका छौं,’ उनले भने । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध सन् १९७४ मा स्थापना भएयता फिनल्यान्ड नेपालका लागि विश्वासिलो विकास साझेदारका रूपमा रहदै आएको छ । विश्वविद्यालयले राजदूत पेट्रीको भ्रमणलाई शिक्षा क्षेत्रको विकासका लागि अर्थपूर्ण रूपमा लिएको छ ।

विश्वविद्यालयले आयोजना गरेको औपचारीक छलफल दुवै देशको राष्ट्रियगान प्रस्तुतिसँगै रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले स्वागत मन्तव्य राखेका थिए भने अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । औपचारीक कार्यक्रमको सञ्चालन विश्वविद्यालयका योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गरेका थिए । कार्यक्रममा विभिन्न संकायका डीन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन सहप्रमुख, कार्यक्रम निर्देशक, विभागीय प्रमुख, कर्मचारी, स्ववियु प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः November 8, 2025 at 6:35 am























कर्मसञ्चार । २०८२ कार्तिक २२ गते शनिवार