मेला भर्न ठाँटीबजार जाने की ?

सुर्खेत, ६ मंसिर ।
यही मंसिर ७ गतेदेखि सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित ठाँटीबजारमा मेला लाग्दै छ । परापूर्वकालदेखि हरेक वर्ष तिहारपछिको पूर्णिमामा लाग्ने ‘ठाँटीबजार जात्रा’ पहिले एक दिन मात्रै हुने गरेकोमा केही वर्षयता तीन/चार दिनसम्म मेलाका रुपमा लगाउने गरिएको हो ।

वीरेन्द्रनगरदेखि झन्डै १४ कोषको दुरीमा रहेको ठाँटीबजार मेलामा साँस्कृतिक तथा खेलकुद प्रतियोगिताहरू आयोजना गरिने भएको छ । ठाँटीबजारमा अवस्थित देउती बज्यै मन्दिरको पुजा गर्ने र खडारात्रीका लागि लगाउँदै आइएको जात्रालाई व्यवस्थित बनाउन मेलाकै रुपमा लगाउन थालिएको मेला आयोजक समितिका सदस्य अमर चन्दले बताए ।

उनकाअनुसार ७ गते साँझ परम्परागत जात्रा लाग्नेछ भने ८ देखि ११ गतेसम्म साँस्कृतिक तथा विविध खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिनेछ । साँस्कृतिक कार्यक्रमका लागि राष्ट्रियस्तरमा ख्याति कमाएका चर्चित कलाकारलाई बोलाइएको छ । मेलामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान र स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ ।

खेलकुद र साँस्कृतिक प्रतियोगिताका विजेतालाई ५ हजारदेखि ६० हजार रुपैयाँसम्मको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यहाँ सुर्खेत, दैलेख र जाजरकोटलगायत अन्य छिमेकी जिल्लाका हजारौं दर्शक मेला भर्न आउने गर्दछन् ।

प्रकाशित मितिः   November 22, 2018 at 4:16 pm 


  • प्रतिक्रिया दिनुहोस्