कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय

सुर्खेत । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औं बोर्ड बैठकले फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

गत वर्ष मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति पटक–पटक सारिँदै स्थगित भएको थियो । नयाँ खेलकुदमन्त्री नियुक्त भएपछि बसेको पहिलो बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो । २०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको दुई वर्षपछि २०८१ मंसिरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तान्तरण गरिएको थियो ।

यस्तै, बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषदमा  सिफारिस गर्ने निर्णय गरेको छ ।लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई ३ महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने र दुई वर्षदेखि निष्क्रिय रहेका खेल संघहरूले आगामी तीन महिनाभित्र गतिविधि सञ्चालन नगरे निलम्बन गरिने पनि बोर्डको निर्णय छ।

प्रकाशित मितिः   November 5, 2025 at 8:22 pm 


  • प्रतिक्रिया दिनुहोस्