योग र ध्यान सबैका लागि आवश्यकः उपमेयर ढकाल

सुर्खेत, ९ भदौ ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्वस्थ रहन योग र ध्यान सबैका लागि आवश्यक रहेको बताएकी छन् । जीवनयोग प्रयोगशाला वीरेन्द्रनगर केन्द्रद्धारा आज (शनिबार) वीरेन्द्रनगरमा आयोजित तीज विशेष कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख ढकालले योग र ध्यानमार्फत मानिसको जीवनमा सुख, शान्ति र समृद्धि हुने विश्वास व्यक्त गरेकी हुन् ।
‘योग सबै उमेर समुहका लागि उत्तिकै आवश्यक छ,’ उनले भनिन् ‘योग र ध्यानका माध्यमबाट जीवन रूपान्तरण गर्न सकिन्छ ।’ शरीर स्वस्थ भए मात्र जीवन सुखी हुने भन्दै ढकालले यसतर्फ सबैले ध्यान दिनुपर्ने आवश्यकता औंल्याईन् ।
पछिल्लो समय चाडपर्व खर्चिला र भड्किला देखिने गरेको भन्दै ढकालले तीज पर्व परम्परा र संस्कृति झल्किनेगरि मात्रै मनाउनुपर्ने बताईन् । तीज पर्वलाई महिलाहरको वेदना पोख्ने चाड मात्र नबनाई मौलिक संस्कृतिको रक्षा गर्दै महिला सशक्तिकरणसँग जोड्नुपर्ने उनको भनाई थियो ।
जीवनयोग प्रयोगशाला वीरेन्द्रनगर केन्द्रका प्रशिक्षक निर्मला कोइरालाले जीवनको आन्तरिक पाटोलाई सबल बनाउन जीवन विज्ञानले मद्दत गर्ने बताईन् । योगलाई जीवनको अभिन्न अंग बनाउनुपर्ने भन्दै उनले जीवनमा सकारात्मक कुराहरूलाई जोड्दै जानु र त्यसको विपरीत नकारात्मक कुराहरूलाई वियोग गर्दै लैजाने साधना योग भएको दाबी गरिन् ।
मानिसभित्र रहेका सम्भावना खोतल्न र मानिसले आफूले आफैँलाई भिन्नै बनाउन सुर्खेतमा गत वैशाखदेखि ध्यान योग शिविर सञ्चालनमा ल्याइएको प्रशिक्षक कोइरालाले जानकारी दिईन् । वीरेन्द्रनगर–४, ६ र ७ मा गरी तीन स्थानमा सञ्चालित योग ध्यान शिविरबाट १ सय ५० जनाले लाभ उठाइरहेका छन् ।
केन्द्रका अध्यक्ष सरिता भुषालको अध्यक्षतामा भएको तीज विशेष कार्यक्रममा वीरेन्द्रनगर–४ का वडा सदस्य कृष्णप्रसाद गौतम, भैरम सामुदायिक वनका अध्यक्ष अमर कार्की, भैरब माविका विव्यस सदस्य पार्वती धौलाकोटीलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजिकरण देवी भण्डारीले गरेकी थिईन् ।

 

 

प्रकाशित मितिः   August 25, 2018 at 4:17 pm 


  • प्रतिक्रिया दिनुहोस्