एमाले सुर्खेतले तयार पार्‍यो ९९ प्रशिक्षक

सुर्खेतः नेकपा (एमाले) सुर्खेतले जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला पार्टी कार्यालयमा तीन दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममार्फत ९९ प्रशिक्षक तयार भएका छन् । यसरी उत्पादन भएका प्रशिक्षकहरूले जिल्लाका पालिका, वडा तथा संगठन मातहतमा पार्टी प्रशिक्षण दिने छन् । ति प्रशिक्षकहरू एक/एक जनाका दरले सुर्खेतका ९९ वटै वडामा पुगेर पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने योजना छ । अबको एक वर्षभित्र जिल्लामा १० हजार पार्टी सदस्यलाई प्रशिक्षित गर्ने लक्ष्यका साथ अभियान अघि बढाइएको एमाले सुर्खेतका उपाध्यक्ष एवम् स्कुल विभाग प्रमुख मोहनसिंह बडुवालले जनाए ।

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव एवम् पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञावली, स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, पोलिट्व्यूरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्यद्वय नवराज रावत र राजबहादुर बुढाक्षेत्रीले प्रशिक्षण दिएका थिए । त्यस्तै, एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, स्कुल विभागका सदस्य सुन्दर लामिछाने र जिल्ला अध्यक्ष कुलमणि देवकोटाले पनि सहभागिलाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा समाजवादका आधार, मार्क्सवादी विश्व दृष्टिकोण, विचार, दर्शन, नेतृत्व एवम् व्यक्तित्व विकास, नेतृत्वको कार्यशैली, समृद्धि र विकास, प्रशिक्षण व्यवस्थापन तथा सूचना प्रविधिलगायतका विविध विषयका कक्षाहरू सञ्चालन गरिएको थियो ।

एमाले सुर्खेतको व्यवस्थापन तथा जिल्ला स्कुल विभागको आयोजनामा सञ्चालित प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहीवार सम्पन्न भएको छ । जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमले नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली, बुझाइ, दृष्टिकोण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले बताए ।

प्रकाशित मितिः   November 7, 2024 at 9:23 pm 


  • प्रतिक्रिया दिनुहोस्