
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरू समायोजन, प्रधानाध्यापकहरूको सरुवा र दरबन्दी मिलान गरेको छ । नगरले शैक्षिक गुणस्तर सुधारका लागि सरुवा, दरबन्दी मिलानका साथै विद्यालय समायोजनको निर्णय गरेको हो । नगर शिक्षा समितिले गएको असोज २७ मा गरेको निर्णयलाई यही कात्तिक १२ गते बसेको कार्यपालिका बैठकले संशोधनसहित अनुमोदन गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन, सरुवा, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन गर्ने निर्णय गरेको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुुख वरिष्ठ उप–सचिव धीरेन्द्रप्रसाद शर्माले बताए । उनका अनुसार शैक्षिक सत्र २०८३ देखि श्री बालमन्दिर प्राथमिक विद्यालयलाई श्री नेरा माध्यमिक विद्यालय खजुरामा समायोजन गरिनेछ ।
यस्तै, श्री नेरा प्राथमिक विद्यालय राम्चेलाई श्री सिद्ध माध्यमिक विद्यालय गढीमा समायोजन गरिने छ भने श्री महाकाली प्राथमिक विद्यालय काफलटाकुरा श्री नेरा माध्यमिक विद्यालय रतुदेवीस्थानमा समायोजन हुनेछ । श्री भैरव आधारभूत विद्यालय राम्रीकाँडालाई कक्षा ८ बाट कक्षा ५ कायम गरिएको छ । श्री सरस्वती प्राथमिक विद्यालय भालुखोलालाई कक्षा ५ बाट कक्षा ३ कायम गर्ने निर्णय भएको छ । यस्तै, श्री सरस्वती प्राथमिक विद्यालय गर्गरेलाई कक्षा ५ बाट कक्षा ३ कायम गर्ने बताइएको छ । श्री चन्द्रज्योति प्राथमिक विद्यालय हरिसकाटेलाई कक्षा ५ बाट कक्षा ३ कायम गरिने नगर शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ । नगरले शैक्षिक सत्र २०८३ देखि केही विद्यालयहरूमा कक्षा ११ सञ्चालनको लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । श्री नेरा माध्यमिक विद्यालय खजुरा, श्री हरिडिलभूमी माध्यमिक विद्यालय तातापानी, श्री नेरा माध्यमिक विद्यालय चिसापानी, श्री आनन्द माध्यमिक विद्यालय कृष्णगञ्ज र श्री हस्तविर आधारभूत विद्यालयलाई शैक्षिक सत्र २०८३ देखि माध्यमिक तहको कक्षा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ । यसैगरी, नगरले एकैपटक ठूलो संख्यामा विभिन्न विद्यालका प्रधानाध्यापकहरूको सरुवा र र शिक्षकहरूको दरबन्दी मिलान गरेको छ ।
यस्तो छ, वीरेन्द्रनगर नगरपालिकाको सूचनाः–



प्रकाशित मितिः October 30, 2025 at 2:31 pm













कर्मसञ्चार । २०८२ कार्तिक १३ गते बिहीवार