पुँजीगत खर्च बढाउनुपर्नेमा जोड

मन्त्रालयको प्रगति समीक्षामा मन्त्री बुढाले भनिन्– बजेट खर्च बढाउने उपाय खोजौं


सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएकी छिन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले पुँजीगत खर्च हुन नसक्नुका कारण पहिचान गरी त्यसको समाधानका उपाय खोज्नुपर्ने बताइन् । ‘मन्त्रालयको वार्षिक कार्ययोजनाबमोजिम नतिजा हासिल हुनेगरी कार्यसम्पादन गर्नुस्,’ उनले भनिन् ‘अब हामीले विकास बजेट खर्च गर्दा समस्या नदोहोरिने वातावरण बनाउनुपर्छ ।’ बजेट कार्यान्वयन प्राथमिकताका आधारमा गर्नुपर्ने भन्दै मन्त्री बुढाले नागरिकले अनुभूत गर्नेगरी प्रभावकारी कार्यसम्पादन गर्न सुझाइन् । उनले मातहतका निकायलाई पुँजीगत खर्च बढाउन निर्देशनसमेत दिइन् ।
यस्तै, मन्त्रालयका सचिव मोहनकुमार शाक्यले प्राथमिताका आधारमा योजनाहरूको कार्यान्वयन गर्न कार्यालय प्रमुखहरुलाई सुझाव दिए । उनले बेरुजु असुलउपर गर्नसमेत कार्यालय प्रमुखहरुलाई निर्देशन गरे । मन्त्रालय र मातहतका निर्देशनालय तथा कार्यालयहरूको प्रगति समीक्षा गरिएको हो । कार्यक्रममा योजनाहरूको वित्तीय एवम् भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूबारे छलफल गरिएको थियो ।
मन्त्रालयका प्रमुख लेखा अधिकृत विनोदकुमार भण्डारीका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजित ३ अर्ब ८३ करोड ३ लाख ५८ हजार बजेटमध्ये तीन महिनामा ८ करोड ५३ लाख ९० हजार रुयैयाँ अर्थात् २ दशमलव २३ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फ ५ करोड ४ लाख ५० हजार र पुँजीगततर्फ ३ करोड ४९ लाख ३९ हजार बजेट खर्च भएको हो । मन्त्री बुढाको प्रमुख आतिथ्यता र सचिव शाक्यको अध्यक्षतामा आयोजित प्रगति समीक्षामा मन्त्रालयअन्तर्गतका दश जिल्लाका कार्यालय प्रमुखहरू, मन्त्रालयका महाशाखा प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   November 1, 2025 at 8:51 am 


  • प्रतिक्रिया दिनुहोस्