
काठमाडौंः आज वैशाख २६ गते ७३औँ कानुन दिवस मनाइदै छ । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिन कानुन दिवस मनाउन लागिएको हो । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । २००७ सालमा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन थालिएको थियो ।
उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो । न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको श्रीगणेश सोही दिनदेखि भएको मानिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सर्वोच्च अदालतको आयोजनामा आज अपराह्न विशेष कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।


कर्मसञ्चार । २०८२ वैशाख २६ गते शुक्रवार