काठमाडौं, ९ मंसिर।
आज (आइतबार) बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधान मस्यौदा समितिले तयार गरेको मस्याैदा पेश भएको छ ।
शनिबार समितिबाट पारित गरी आइतबार बैठकमा पेश गरिएको मस्यौदामा नेताहरुलाई दोहोरो जिम्मेवारी नदिने प्रस्ताव गरिएको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए ।
यो प्रस्ताव पारित भए कांग्रेसको विधानमा एक व्यक्ति, एक पदको व्यवस्था हुनेछ । विभाग र भातृ संस्थाहरूमा समेत दोहोरो जिम्मेवारी नदिइने गरी मस्याैदा तयार गरिएको छ । प्रस्तावित मस्याैदाअनुसार पदाधिकारीहरु पनि बढ्ने छैनन् । बैठकमा पेश गरिएको मस्यौदामा पदाधिकारीबारे पुरानै व्यवस्था कायम हुने उल्लेख गरिएको समितिका प्रवक्ता लेखकले बताए ।
तर, केही नेताहरूले पदाधिकारी संख्या बढाउनुपर्ने अडान राखेकोले फरक मतलार्इ पनि मस्याैदामा समेटिएको उनले बताए । फरक मत राख्ने नेताहरूले उपसभापति ३ जना र सहमहामन्त्री ५ देखि ७ जनासम्म हुने व्यवस्था गर्नुपर्ने बताउँदै अाएका छन् ।
चारवटा संसदीय बोर्ड, टोलदेखि नै संगठन
संघीय संरचना अनुसार विभन्न तहमा ४ वटा संसदीय बोर्ड रहने उल्लेख छ । जसअनुसार केन्द्रीय संसदीय बोर्ड, प्रतिनिधिसभा संसदीय बोर्ड, प्रादेशिक संसदीय बोर्ड र जिल्ला संसदीय बोर्ड रहनेछन् ।
मस्यौदामा संघीता अनुरूपको संगठन निर्माण गर्ने उल्लेख गरिएको छ । जसअनुसार ५०० देखि एक हजार ५०० जनसंख्या भएको बस्तीलाई टोल मानेर टोलदेखि नै संगठन निर्माण गरिने छ । जसमा ६० प्रतिशत खुला र ४० प्रतिशत समानुपातिकको व्यवस्था हुने छ । एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चितता रहनेछ ।
उम्मेदवारको योग्यता तोक्ने
प्रतावित मस्यौदामा निर्वाचनका लागि सिफारिस हुने उम्मेदवारको योग्यता तोक्ने, ३ जनाभन्दा बढी उम्मेदवार सिफारिस गर्न नपाउने, निर्वाचनभन्दा एक महिना पहिले नै उम्मेदवार तय गरिसक्नु पर्नेसमेत उल्लेख गरिएको छ ।
यस्तै, पार्टी सदस्यता वितरणलार्इ भने सहज बनाउने गरी व्यवस्था गरिएको समितिका प्रवक्ता लेखकले जानकारी दिए । विधान मस्यौदा सम्बन्धी छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक यही मंसिर १३ गते बस्नेछ ।
प्रकाशित मितिः November 25, 2018 at 1:08 pm


कर्मसञ्चार । २०७५ मंसिर ९ गते आइतवार