मार्सी चामलको मूल्य बढ्यो

सुर्खेत, २४ साउन ।
केही महिनायता मार्सी भातको चर्चा चुलिएसँगै चामलको माग र बिक्री पनि बढेको छ । पछिल्लोपटक मेडिकल सञ्चालक दुर्गा प्रसाईंको घरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएपछि मार्सीले सर्वसाधारणको ध्यानसमेत तानेको हो ।

जुम्लामा पहिले ७० देखि ८० रुपैयाँसम्म बिक्री हुने मार्सी चामल अहिले १२० देखि १५० रुपैयाँसम्म बिक्री भैरहेको छ । सुर्खेतमा भने १७० रुपैयाँभन्दा माथि बिक्री भैरहेको छ । त्यही चामल काठमाडौंका बजारमा भने २२० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भैरहेको छ ।

कर्णालीको मार्सी धानको चामल जुम्लाबाट काठमाडौं र सुर्खेत बजारमा प्रशस्तै मात्रामा माग हुने गरेको छ । माग बढेसँगै अहिले जुम्ली किसान मार्सीको उत्पादन कसरी बढाउने भनेर सोधीखोजी गर्न थालेका छन् । केही किसानले गएको वर्ष लगाएको आफ्नो धान सुरक्षित गर्न गोडमेल सुरुवात गर्नुका साथै गुणस्तर उत्पादन गरी बिक्री गर्ने सोचमा रहेका छन् भने केहीले गएको वर्षको स्टक धान र चामल बिक्री गरिरहेका छन् । जुम्लामा पहिले ७० देखि ८० रुपैयाँसम्म बिक्री हुने मार्सी चामल अहिले १२० देखि १५० रुपैयाँसम्म बिक्री भैरहेको छ । सुर्खेतमा भने १७० रुपैयाँभन्दा माथि बिक्री भैरहेको छ । त्यही चामल काठमाडौंका बजारमा भने २२० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भैरहेको छ ।
जुम्लामा तातोपानी गाउँपालिका वडा नम्बर –१, लिताकोट गाउँबाट यो हप्तामा झण्डै आधा टनभन्दा बढी धान बिक्री भैसकेको छ । स्थानीय गौरीशंकर उपाध्यायले आफूसँग भएको केही धान अहिले सुर्खेतमा बिक्री गरेको र अब धान उत्पादनमा जोड दिएको बताए । १२ औं शताब्दीमा जुम्लाको तातोपानीमा पहिलो पटक यो धान रोपिएको स्थानीयबासिन्दाले बताएका छन् ।

त्यतिबेला गुरु चन्दननाथ बाबाले भारतको कश्मीरबाट कालीमार्सी धानको बीउ ल्याइ तातोपानीको लाक्षु ज्यूलामा लछालकृति पैकलालाई तालिम दिई लाछु ज्युलोमा धान खेती विस्तार गरेको इतिहास रहेको स्थानीय तथा तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । न्यौपानेका अनुसार तातोपानीमा एक सुपो (नाङ्लो) धान हुने खेत अहिले पनि छ । त्यो खेतमा जहिले पनि एक सुपो धान हुन्छ । योसँग इतिहास जोडिएको छ ।
पछिल्लो समयमा चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गर्ने चलन थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा चढाउने चलन छ । यसैगरी तत्कालीन समयमा राजाहरुले सिंजा क्षेत्रमा यो धानको उत्पादन बढाएका थिए । कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख तथा वैज्ञानिक डाक्टर श्रीप्रसाद बिष्टले उच्च पहाडी भागमा हुने रैथाने जातको धान नै जुम्ली मार्सी भएको बताए । उच्च पहाडको हावापानी हुने स्थानीय जातको धान १८ सय मिटरभन्दा माथिको पहाडी भेगमा फल्दछ । उनका अनुसार जुम्लासहित कर्णालीको यो उचाईमा मार्सी फल्ने गर्दछ । मार्सी धान संसारको उच्च ठाउँमा धान फल्ने भाग छुमचौर (२७ सय ९० मिटर), सिञ्जा उपत्यका, तिला हिमा नदीको छेउमा उत्पादन हुन्छ ।
जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउने गरिएका कारण यसको इतिहास पुरानै थियो भन्न सकिन्छ । पछिल्लोपटक मेडिकल सञ्चालक दुर्गा प्रसाईंको घरमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएपछि फेरि यसको चर्चा बढेको हो ।

जुम्लाका गाउँहरुमा जुम्ली मार्सीको बीउ राख्दा निश्चित दिनबार नै तोकिएको हुन्छ, जुन अहिलेसम्मको प्रचलनमा छ । हरेक वर्ष चैत्र १२ गते बीउ केलाउने र पानीमा भिजाउने, १६ गते निकालेर टुसा उमार्नका लागि तातो गरेर ढाकेर राख्ने चलन रहेको छ । यसरी टुसा उमारेको बीउ चैत २० गते छर्ने चलन रहेको छ । त्यसै दिन मार्सी छरिएकै कारण विसुवा पर्व पनि यहाँ मनाइने गरिन्छ । मार्सीका विकल्पमा बढी उत्पादन हुन सक्ने भन्दै कृषि अनुसन्धान केन्द्र जुम्लाले चन्दननाथ १ र ३ धान वितरण गरेपछि अहिले त्यो धान उत्पादन सुरु भएको छ । त्यसको स्वाद मार्सी धानकै जस्तो हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

पछिल्लो समय मार्सीको चर्चा राजनीतिसँग जोडेर पनि भएपछि यसको ‘ब्रान्डिङ’ समेत भएको छ । अर्कोतिर सामाजिक संजाल रंगिएपछि यसको व्यापक प्रचार भएको छ । धान फल्ने विश्वको सबैभन्दा अग्लो ठाउँ जुम्लामै छ । जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरमा पनि यो पटक प्रशस्त मार्सी धान रोपिएको छ । केही वर्षअगाडि रोप्न छोडिएको मार्सी यो वर्ष किसानले फेरि रोपेका छन् ।

प्रकाशित मितिः   August 9, 2018 at 8:00 pm 


  • प्रतिक्रिया दिनुहोस्