‘हाम्रो परिवारमाथि अन्याय भयो’

सुर्खेतः नेपाली कांंग्रेसका उपसभापति पूर्णबहादुर खड्काका सहोदर भाइ डा. डम्बर खड्का (माइलो) र विष्णु खड्का (साइलो) ले आन्दोलनका नाउमा आफूहरूमाथि पटक–पटक अन्याय भएको बताएका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा उनीहरूको घर तथा व्यवसायमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । सोही घरको आँगनमा छिमेकी र आफन्तहरूसहित बुधबार पत्रकार सम्मेलन गर्दै खड्का भाइले नेताको घर–परिवार भएकै कारण आफ्नो परिवारलाई जहिले पनि अराजक व्यक्ति र समूहले निसाना बनाउने गरेको भन्दै गुनासो गरे । आफूहरूले पेशा–व्यवसाय गरी मेहनतले कमाएको सम्पत्तिमा आगजनी र लुटपाट भएकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
दाइ पूर्णबहादुरले लामो समयदेखि राजनीतिमार्फत समाज र मुलुुकको लागि निस्वार्थ भावनाले काम गरिरहेको उनीहरूको दाबी छ । खड्का भाइले यदि पूर्णबहादुर (दाइ)ले पदको दुरूपयोग वा भ्रष्टाचार गरी घर गाडी वा अस्वाभाविक कुनै सम्पत्ति जोडेको भेटिए दाइमात्र नभइ आफूहरूसमेत त्यसको सजाय भोग्न तयार रहेको भन्दै छानविन गरेर पत्ता लगाउन चुनौती दिए । सबै राजनीतिकर्मीलाई एउटै डालोमा हालेर भ्रष्टको संज्ञा दिन नहुने उनीहरूले बताए । २३ र २४ भदौमा भएको जेनजी बिद्रोहका क्रममा दोस्रो दिन वीरेन्द्रनगर–७ मा रहेको उनीहरूको घरमा आगजनी भएको थियो । आगजनी भएका तीन वटामध्ये एउटा पुरानो पुर्खेउली हो भने एक डम्बर र अर्को विष्णुको घर हो । आगजनीबाट घरमात्र नभइ गाडी र सबै सरसामान पूर्णरूपमा नष्ट भएका छन् । खड्का परिवारको करोडौंको क्षती भएको छ ।
जेनजी आन्दोलनको उद्देश्य सही भएपनि त्यसको आवरणमा उश्रृंखल समूहले योजनाबद्ध रूपमा व्यक्ति र निजी सम्पत्तिमाथि प्रहार गरेर अराजकता मच्चाएको खड्का परिवारको भनाइ छ । ती घरमा यसअघि प्रदेश प्राप्तिको आन्दोलनका बेला पनि तोडफोड हुनुका साथै आगजनीको प्रयास भएको थियो ।
डा. डम्बर कर्णाली प्रदेश अस्पतालका पूर्वनिर्देशक हुन् । झन्डै चार दशक चिकित्सा पेशामा सक्रिय रहेका उनी केही समय पहिले सेवा निवृत्त भएका थिए । विष्णु भने व्यवसायी हुन् । सुर्खेतको वीरेन्द्रनगरमा माया नर्सिङ होम, माया पेट्रोल पम्पलगायतका व्यवसाय सञ्चालन गरिरहेका उनी कांग्रेस सुर्खेतका उपसभापति छन् । उनी मध्यपश्चिम यातायाता व्यवसायी प्रा.लिका अध्यक्षसमेत हुन् ।
‘४० वर्षको कमाइ खरानी बनाइयो’
डा. डम्बरले आफूले ४० वर्षसम्म बिरामीको सेवा गरेर कमाएको सम्पत्ति अराजकहरूको झुन्डले खरानी बनाएको भन्दै दुःख व्यक्त गरे । ‘रातदिन नभनी मेहनत र इमान्दारीताले आर्जन गरेको हो, ’ उनले भने, ‘पेशामा रहदा कुनै अनुचित काम गरेको छैन, सबैको भलोका लागि काम गरिरहेका हामीमाथि ठूलो अन्याय भएको छ ।’ उनले आफूहरू भर्खरै कतैबाट आएको नभइ पुरानो बस्ती भएकाले थुप्रै पैतृक सम्पत्तिसमेत रहेको बताए । ‘पैतृक पनि थियो, मेहनत गरेर त्यसमा थपथाप गर्दै बनाइएको हो,’ डा. डम्बरले भने ।
पत्रकारहरूसँगको कुराकानीमा निकै भावुक बनेका उनले आन्दोलनका नाउमा आपराधिक गतिविधि भएको भन्दै आक्रोशसमेत पोखे । ‘आजकालका यी झुन्ड र ट्यापेहरूले बुझनुपर्ने के छ भने तीनका पनि कुनैदिन दिन आउलान हामी छोड्ने छैनौं,’ उनले भने । नागरिकको जीउधनको सुरक्षा दिन नसकेको बताउँदै उनी सुरक्षा निकायप्रति पनि कडा रूपमा खनिए । उनी भन्छन्, ‘फोर्स खै, सुरक्षाकर्मीले सुरक्षा दिन नसकेपछि हामी कहाँ जाने, हामीले आफ्नो सुरक्षाका लागि घर–घरमा बन्दुक राख्नुपर्ने बेला आयो । यस्तो विध्वंश हुँदा खै उहाँहरूको उपस्थिति, सुरक्षाकर्मीले देशलाई कङ्गाल बनाउने, हामीलाई सुरक्षा गर्ने शक्तिहरू यस्तै हुन्छ,’ डा. डम्बरले भने । उनले सुरक्षा निकायले सिहदरबार र राष्ट्रपति भवनजस्ता राष्ट्रिय धरोहर पनि जोगाउन नसक्नु बिडम्बना भएको बताए ।
‘मेहनत गरेर खान पनि नपाइने हो ?’
पत्रकार सम्मेलनमा भाइ विष्णुले आफूहरूले प्रगति गरेको डाहा गर्नेहरूले आगजनी र लुटपात गरेको जिकिर गरे । बिहानदेखि रातीसम्म दुःख र कडा परिश्रम गरेर आर्जेको सम्पत्तिमा योजना बनाएर आक्रमण गरिएको उनको दाबी छ । उनी भन्छन्, ‘के मेहनत गरेर पनि खान नपाइने हो ।’ विष्णुले आफ्नो घर र व्यवसायमा आगजनी तथा तोडफोड गर्ने कार्यमा जेनजी पुस्तामात्र नभइ षडयन्त्रमूलक तरिकाले राजनीतिक पार्टीमा आबद्ध व्यक्तिहरूसमेत लागेको आरोप लगाए । ‘कुनै पनि पार्टी अछुतो छैन, घुसपैठ भएको छ, घटनामा क–कसको संलग्नता र उक्साहट छ भन्ने धेरै प्रमाणहरू हामीले पाइसकेका छौं,’ उनले भने, ‘रास्वपा, राप्रपा, माओवादी, एमाले र कांग्रेसका समेत केही तत्वहरूले हाम्रो घरमा आगजनी र लुटपाट गरेका छन् ।’
दाइ पटक–पटक मन्त्री हुँदा पनि आफूहरूले कुनै लाभ नलिएको उनले बताए । ‘दाइका कारण कुनै पद वा लाभ लिएको प्रमाण ल्याउनुस् हामी जस्तोसुकै सजाय भोग्न तयार छौं,’ उनले भने । आफू र आफ्नो परिवारले व्यक्ति, सामाजिक संघ–संस्था र विकास निर्माणका लागि गरेको योगदानलाई बिर्सिएर अराजकहरूको समूहले बिध्वंश गरेको भन्दै उनले दुःख व्यक्त गरे । ‘पूर्णबहादुरको भाइ–छोरा हुनुमा हामीलाई गर्व छ । तर उहाँले बरू बाहिरका मान्छेलाई रोजगारी दिने र सहयोग गर्ने गर्नुभएको छ,’ उनले भने, ‘हामीले आफ्नै बलबुताले परिश्रम गरिरहेका छौं ।’

प्रकाशित मितिः   September 24, 2025 at 5:06 pm 


  • प्रतिक्रिया दिनुहोस्