
पोखरा, १५ असार ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उमेदवार विद्या भट्टराई विजयी भएकी छन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मतान्तरले नेकपा उमेदवार भट्टराई विजयी भएकी हुन् । उनले २४ हजार ३९५ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९८६ मत ल्याएका छन् ।
मतगणना सकिएको छ । तर, यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । औपचारिक घोषणा हुन केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।
विजयी उमेदवार भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । कास्की २ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो । कुन ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्नी विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेललगायत २१ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।
तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की(२ बाट प्रतिनिधि सभाको एक सिट रिक्त भएको थियो । सो पदमा स्व. रविन्द्र पत्नी विद्या विजयी भएकी हुन् ।
प्रकाशित मितिः December 1, 2019 at 7:07 pm













कर्मसञ्चार । २०७६ मंसिर १५ गते आइतवार