नेपालको अर्थतन्त्रमा विज्ञापन बजारको हिस्सा सानो छ । नेपाली बजारमा यो विस्तारै बामे सर्दै गरेको क्षेत्र हो । कुनै पनि वस्तु तथा उत्पादनको प्रवर्द्धनका लागि विज्ञापन अनिवार्य हुन्छ । सञ्चार माध्यम र विज्ञापन व्यवसाय एक–अर्काका परिपूरक हुन् । मुलुक औद्योगीकरणमा गएसँगै विज्ञापन व्यवसायले अर्थतन्त्रमा थप योगदान पुर्याउने निश्चित छ ।
उद्योगका रूपमा हुर्कंदै गरेको विज्ञापन व्यवसायमा चुनौती र अवसर दुवै छन् । सही ढंगले व्यवस्थापन गर्न सकेमा विज्ञापन व्यवसायले बेरोजगारी अन्त्य, उत्पादन खपत र अर्थतन्त्र विकासमा महत्वपूर्ण योगदान पु-याउन सक्छ । यसरी हेर्दा विज्ञापन व्यवसायलाई व्यवस्थित रूपमा अगाडि बढाउन थप योजनासहित अघि बढ्नु आवश्यक देखिन्छ ।
त्यसका लागि सञ्चारमाध्यमले नेपाली विज्ञापन बजारलाई स्थायित्व र गुणस्तरीय सेवा प्रदान गर्न विज्ञापन आचारसंहिता बनाई आफैँमा लागू गर्नु आवश्यक छ । हाल विज्ञापन एजेन्सीबीच रहेको आन्तरिक र अस्वस्थ प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र पारदर्शी बनाउन पनि उत्तिकै आवश्यक छ । सञ्चार माध्यम र विज्ञापन व्यवसाय एकअर्काका परिपूरक भए पनि यी संस्थालाई नियमन गर्ने निकाय नहुँदा अस्वस्थ प्रतिस्पर्धा दिनहुँ बढ्दै गइरहेको छ । अनावश्यक र अस्वस्थ प्रतिस्पर्धालाई नियमन नगर्ने हो भने यो व्यवसायबाट धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।
नेपालमा विज्ञापनको सुरुवात गोरखापत्रको प्रकाशनसँगै भएको हो । गोरखापत्रका पहिलो विज्ञापनदाता कृष्णप्रसाद आचार्य हुनुहुन्थ्यो । पञ्चायत कालमा सुस्त रहेको विज्ञापन बजार ०४६ सालको जनआन्दोलनपश्चात् गतिपूर्वक अघि बढेको देखिन्छ । जनआन्दोलनको सफलतासँगै प्रकाशन स्वतन्त्रता पनि प्राप्त भयो । दैनिक, साप्ताहिक पत्रिकाको प्रकाशन दिनहुँ बढ्दै गयो ।
पत्रिका प्रकाशनसँगै एफएम रेडियो र केही टेलिभिजन पनि स्थापना भए । मिडिया विस्तारसँगै विज्ञापन बजारको पनि विस्तार भयो । वार्षिक करिब नौ अर्बको विज्ञापन व्यवसाय छ भनिए पनि यसबारे हालसम्म गहिरिएर अध्ययन, अनुसन्धान भएको पाइँदैन । तर, वार्षिक न्यूनतम ८ देखि १५ प्रतिशतका दरले वृद्धि हुँदै आएको पाइन्छ ।
नेपालमा करिब ४९ प्रतिशत विज्ञापन छापा माध्यमले ओगटेको छ । २० देखि २२ प्रतिशत टेलिभिजन र २० प्रतिशतजति रेडियोमा जान्छ । त्यसपछि झन्डै तीन प्रतिशतजति डिजिटल सञ्चार माध्यममा र १० प्रतिशत अन्य प्रकारका विज्ञापनले ओगटेको छ ।
विज्ञापनको बजार जति विस्तार हुँदै छ, त्यति व्यवसायी पीडित हुनुपर्ने अवस्था विद्यमान छ । ‘क्लिनफिड’को माग धेरै अघिदेखि भए पनि हालसम्म लागू हुन सकेको छैन । ०५९ सालमा विज्ञापन नीति आएको भए पनि त्यससम्बन्धी ऐन, कानुन अहिलेसम्म नबन्दा समस्या अझै बढिरहेको छ । ‘क्लिनफिड’ लागू भएमा टेलिभिजनमा विदेशी च्यानल आउँदा विज्ञापनरहित ‘सिग्नल’ आउँछ र त्यसमा स्वदेशी विज्ञापनले ठाउँ पाउनेछ । विस्तार भइरहेको विज्ञापन बजारलाई अघि बढाउन र दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न ‘क्लिनफिड’ तुरुन्त लागू हुनुपर्छ । क्लिनफिड लागू नहुँदा राजस्वमा समेत प्रभाव परिरहेको छ ।
अहिले विदेशी च्यानलबाट सित्तैँमा विदेशी वस्तुको विज्ञापन भइरहेको छ । त्यसले एकातिर विदेशी सामान उपभोगमा मानिसलाई आकर्षित गरेको छ भने नेपालको विज्ञापन क्षेत्रका अवसर र प्रतिभालाई अगाडि ल्याउन सकेको छैन । स्वदेशी बजारलाई प्रश्रय दिन र राजस्व बढाउन पनि क्लिनफिड नीति चाँडै कार्यान्वयनमा ल्याउनु आवश्यक छ । तर, ‘क्लिनफिड’ नीति लागू गर्ने निर्णयबाट सरकार पछि हट्नु दुःखद हो । स्वदेशी तथा विदेशी स्वार्थ समूहको दबाबमा परेर सरकार त्यसबाट पछि हट्दा नेपालको ठूलो अर्थतन्त्र बिदेसिई व्यापार घाटा बढ्न जान्छ । विदेशी च्यानल र केही च्यानल वितरकको स्वार्थमा सरकार पछि हट्दा नेपालको विज्ञापन बजार प्रभावित भएको छ ।
विज्ञापन बजारमा सरकारी विज्ञापनको वर्चस्व बढी देखिन्छ । तर, सरकारी विज्ञापनमा केही सञ्चार माध्यमको मात्र एकाधिकार देखिन्छ । यसलाई नतोडी विज्ञापन बजार फैलने देखिन्न । कुनै एक वा दुई पत्रिका, टेलिभिजन वा रेडियोलाई उपलब्ध गराइने सरकारी विज्ञापन सरकारी क्षेत्रबाट प्रतिस्पर्धात्मक ढंगबाट विज्ञापन एजेन्सीमार्फत नै वितरण गर्नुपर्छ । समानुपातिक वितरण प्रणाली लागू गर्नुपर्छ । यसो भयो भने विज्ञापन बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा केही कम हुन सक्छ । विज्ञापन बजारमा अस्वस्थ खालको छुट दिने र लिने प्रतिस्पर्धा देखिन्छ । त्यसले गर्दा देखाउने दर एउटा र कार्यान्वयन हुने दरबीच ठूलो खाडल देखिन्छ ।
नेपालमा ६ सयभन्दा बढी विज्ञापन एजेन्सी क्रियाशील छन् र तीमध्ये एक सय २१ कम्पनी नेपाल विज्ञापन संघमा दर्ता भएको देखिन्छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा एटिएल र बिटिएल गरी वार्षिक ६ अर्ब रुपैयाँको विज्ञापन बजार छ । पछिल्लो अवधिमा विज्ञापन कारोबारको २० प्रतिशत हाराहारी अनलाइनलगायत डिजिटल माध्यमले प्रवाह गर्न थालेको अनुमान गरिएको छ । उच्च गतिको इन्टरनेट र विभिन्न एप्लिकेसन्ससहितका मोबाइल सेटका कारण अहिले आएर विज्ञापन बजार पूर्ण डिजिटलाइज्ड भइसकेको छ । पत्रपत्रिकामा विज्ञापन छाप्नु, टेलिभिजनमा देखाउनु, रेडियोमा प्रसारण गर्नु पुरानो शैली बन्दै छ । अनलाइन र सामाजिक सञ्जालमा विज्ञापन झन् प्रभावकारी भएर गएको छ । छापा, टेलिभिजन र एफएमले नयाँ युगमा अभ्यस्त हुन आफ्नै अनलाइन पोर्टल सञ्चालन सुरु गरेका छन् । विभिन्न एप्लिकेसन्स बनाएका छन्, सामाजिक सञ्जालका पेज बनाएर समाचार प्रवाहको नयाँ शैली अपनाएका छन् ।
देश संघीय प्रणालीमा गइसकेको अवस्थामा अब मिडिया र विज्ञापन बजारको पुनर्संरचना पनि सोहीअनुसार हुनुपर्ने आवश्यकता देखिएकोे छ । यसले राजधानी केन्द्रित ठूला सञ्चार माध्यम खासगरी टेलिभिजन र ठूला छापालाई चुनौती थपिएको छ । सर्वोच्च अदालतले हालै गरेको समानुपातिक विज्ञापन प्रणालीसम्बन्धी आदेशलाई समेत मध्यनजर गर्दा विज्ञापन बजारको अबको अवस्था कस्तो हुन्छ भन्न गाह्रो छ । (घिमिरे एडभरटाइजिङ एसोसिएन अफ नेपालका सचिव हुन्)
कर्म संचार । २०७५ भाद्र ५ गते मंगलवार