पाँच महिनाको प्रगतिः लेटरप्याड र होडिङबोर्ड !

वीरेन्द्रनगर, २१ भदौ ।

मन्त्रालयको मुख्यद्वार र धुलियाबिट चोकमा पर्यटन वर्ष सम्बन्धी दुई वटा होडिङबोर्ड, मन्त्रालयभित्र डिजिटल बोर्ड, लेटरप्याड ।

यीनै हुन् ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को पाँच महिने अवधिका प्रगति ।

पाँच लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित कर्णाली प्रदेश सरकारले गत वैशाख १ गते मुगुको रारातालबाट पर्यटन वर्षको शुभारम्भ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली रारामै पुगेर शुभारम्भ गरेको पर्यटन वर्षको पाँच महिना पूरा हुन थालेको छ ।
यो अवधिमा प्रदेश सरकारका गतिविधि शून्यप्रायः छन् ।

लेटरप्याड छ, सचिवालय छैन । पाँच महिनाको अवधिमा कति जना आन्तरिक तथा बाह्य पर्यटक कर्णाली प्रदेशमा आए त्यसको तथ्यांक पनि छैन । सरोकारवाला निकाय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांकले भन्छ, कर्णालीमा ‘शून्य’ पर्यटक भित्रिए ।

‘पूर्वाधार र तयारीबिना नै पर्यटन वर्ष घोषणा भयो,’ मन्त्रालयका प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख शिवराम अधिकारी भन्छन्, ‘पाँच लाख त के एक लाख पर्यटन भित्र्याउन पनि मुस्किल छ ।’

मुख्यमन्त्री संयोजक रहेकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश स्तर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्रालयस्तरको युनिट हुनुपर्ने हो । यो अवधिमा मन्त्रालयले दुई वटा काम देखिने गरेर गरेको छ ।

मन्त्रालयको मुख्यद्वार र वीरेन्द्रनगरको धुलियाबिट चोकमा पर्यटन वर्ष सम्बन्धी होडिङ बोर्ड राखिएका छन् भने मन्त्रालयभित्र डिजिटल बोर्ड राखिएका छन् । ‘त्योबाहेक अहिलेसम्म केही कामै भएको छैन,’ मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘न सचिवालय छ, न कर्मचारी, कहाँबाट पर्यटन सम्बन्धी गतिवधि हुनु ।’ ७० लाख रुपैयाँ खर्चेर शुभारम्भ गरिएको पर्यटन वर्षको दुवै ठाउँमा पर्यटन सम्बन्धी हेर्ने युनिटसमेत छैनन् ।

पर्यटन वर्षको उद्घाटनका क्रममा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५ सचिवालय’का नामबाट प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री, ६ वटै प्रदेशका मुख्यमन्त्री र कुटनीतिक नियोगका प्रमुखहरुलाई प्रदेश सरकारले पत्र पठाएको थियो । सचिवालय लेटरप्याडमा मात्रै सीमित रह्यो ।

१० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएका छन् । प्रदेश स्तरमै पर्यटन सम्बन्धी गर्ने युनिट नहुँदा जिल्लामा पनि गतिविधिहरु शून्य छन् । पर्यटन वर्षले नेपालकै ठूलो राराताललाई केन्द्रमा राखेको थियो । जुम्ला र मुगुको सिमा नाकामा रहेको नेपाली सेनाको बुलबुले चेकपोस्टका अनुसार वैशाखयता १८ हजार ३८ जना रारा प्रवेश गरेका छन् । तीमध्ये तीन सय १० जना विदेशी पर्यटक हुन् । नेपाली सेनाको इन्ट्री पोस्टको यो रेकर्ड पनि प्रदेश सरकारसँग छैन ।

नेपाली सेनाको यो रेकर्डले एक वर्षको अवधिमा पाँच लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको महत्वाकांक्षी लक्ष्य पूरा हुने देखिँदैन । ‘पूर्वाधार र तयारीबिना नै पर्यटन वर्ष घोषणा भयो,’ मन्त्रालयका प्रशासन, योजना तथा अनुगमन महाशाखाका प्रमुख शिवराम अधिकारी भन्छन्, ‘पाँच लाख त के एक लाख पर्यटन भित्र्याउन पनि मुस्किल छ ।’

कर्णाली प्रदेश पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलले भरिपूर्ण छ । तर, पूर्वाधार अभावका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउन मान्दैनन् । दुई महिनादेखि राराताल जाने कर्णाली राजमार्ग अवरुद्ध छ । प्रदेश सरकारले बाटो खुलाउन पहल गरेको छैन । प्रदेशका मन्त्रालयबीच समन्वय नहुँदा पनि पर्यटन वर्षको प्रभावकारिता हराउँदै गएको देखिन्छ ।

प्रकाशित मितिः   September 6, 2018 at 5:24 pm 


  • प्रतिक्रिया दिनुहोस्